मनसुन अवधिभरका लागि उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने
मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाण्डाै उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ ।
समितिले आज विज्ञप्ति निकालेर यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको छ ।
समितिका सूचना अधिकृत मधु तिमल्सेनाका अनुसार अहिले वैकल्पिक प्रणालीमार्फत पानी पथान्तरण भइरहेको र अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत ४ वर्षदेखि सुरुङको सफाइ, मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नुपरेको छ ।
‘मनसुन सकिएपछि सकेसम्म छिटो मेलम्चीको पानी पुनः काठमाण्डौ उपत्यकामा पथान्तरण गर्नेछौँ’, उनले भने, ‘मेलम्ची खानेपानी बन्द भएको अवस्थामा पनि विभिन्न वैकल्पिक स्रोतबाट पानी सङ्कलन गरी काठमाण्डौ उपत्यकाका उपभोक्तालाई वितरण गर्ने सम्बन्धमा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिने छ ।’
