पौराणिक कथामा आधारित ‘नाग बन्धम’ देशभर प्रदर्शनमा
काठमाडौं। ठूलो बजेटमा निर्माण गरिएको पौराणिक ड्रामा फिल्म ‘नाग बन्धम’ नेपालमा प्रदर्शनमा आएको छ। क्यापिटल वर्ल्डमार्फत नेपाल भित्रिएको यो फिल्म शनिबार बेलुकाको शोदेखि देशभर प्रदर्शनमा आएको हो।
फिल्मले हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को कथालाई भव्य रूपमा प्रस्तुत गरेको छ।
अभिषेक नामाको लेखन तथा निर्देशनमा बनेको फिल्मको मुख्य पात्र रुद्र (विराट कर्ण) लाई भगवान् महादेवको शक्तिशाली र उग्र स्वरूपसँग जोडेर चित्रण गरिएको छ। रुद्रले आफ्नो समुदाय र धार्मिक सम्पदालाई दुष्ट शक्तिबाट जोगाउन संघर्ष गर्ने कथा फिल्ममा देखाइएको छ।
फिल्ममा विराट कर्ण, नभा नतेश र ऐश्वर्या मेनन मुख्य भूमिकामा छन्। साथै महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीको पनि महत्वपूर्ण अभिनय रहेको छ। ‘केजीएफ’ मा ‘गरुडा’ पात्रका रूपमा चर्चित रामचन्द्र राजु फिल्ममा खलनायकको भूमिकामा देखिएका छन्।
एनआईके स्टुडियो र अभिषेक पिक्चर्सको ब्यानरमा किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डीले निर्माण गरेको यो फिल्मले पौराणिक कथालाई सामाजिक, राजनीतिक तथा साम्प्रदायिक विषयसँग जोडेर प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा मानिसको अमर बन्ने चाहना र शक्तिप्रतिको लोभलाई केन्द्रमा राखिएको छ। खलपात्रहरू अब्दाली र बैरागीले ‘ब्रह्म कमल’ प्राप्त गरी परम शक्ति हासिल गर्न खोज्दा, रुद्रले त्यसको रक्षा गर्न जीवन नै समर्पण गरेको कथा प्रस्तुत गरिएको छ।
फिल्ममा १७५६ सालको फ्ल्यासब्याकमार्फत धार्मिक समुदायमाथि भएको हिंसा र त्यसले पारेको प्रभावलाई पनि जोडिएको छ। कथा अघि बढ्दै जाँदा एक्सन–एड्भेन्चर शैलीमा रूपान्तरण हुन्छ, जहाँ सर्प, चील र गोहीसँगको संघर्ष जस्ता दृश्य समावेश छन्।
भव्य सेट, भिजुअल प्रस्तुति र पौराणिक वातावरण सिर्जनामा गरिएको मेहनत फिल्मको मुख्य आकर्षण भएको बताइएको छ।
