प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा आयोजना हुने पाँचौँ ‘युनाइटेड नेसन्स चिफ अफ पुलिस समिट’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उक्त समिट यही असार २३ देखि २४ गतेसम्म चल्नेछ । प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुवै सङ्गठनका वरिष्ठ अधिकृतहरुले बिदाइ गर्नुभयो । उक्त समिटमा अन्तरराष्ट्रिय सहयोग सुदृढीकरण, प्रविधिको प्रयोगलगायत विषयमा छलफल हुने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
भ्रमणका दौरान महानिरीक्षक कार्कीले संयुक्त राष्ट्र सङ्घका उच्च पदाधिकारी तथा संयुक्त अरब इमिरेट्स (युएई) का प्रतिनिधिमण्डलका सदस्यसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्नुहुनेछ ।
प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
