`

स्वास्थ्य बिमा सेवा बन्द, बिरामी मर्कामा

Nepal One HD २४ असार २०८३ १४:१५
जीवनशैली/स्वास्थ्य

कैलाली। भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत प्रदान हुँदै आएको फार्मेसी र प्रयोगशाला सेवा बन्द भएपछि सेवाग्राही उपचारमा समस्या झेल्न बाध्य भएका छन्।

स्वास्थ्य केन्द्रले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा दिएबापत पाउनुपर्ने रकम लामो समयदेखि प्राप्त नभएपछि आर्थिक अभावका कारण जेठ २९ गतेदेखि फार्मेसी र प्रयोगशाला सेवामा स्वास्थ्य बिमा सुविधा स्थगित गरिएको केन्द्रका अधिकारी अमरसिंह चौधरीले जानकारी दिए।

उनका अनुसार सरकारले उपलब्ध गराउनुपर्ने बिमा रकम नआएपछि स्वास्थ्य केन्द्रको आन्तरिक स्रोतबाट सेवा सञ्चालन गर्न सम्भव नभएकाले बिमा सेवा अस्थायी रूपमा रोक्नुपरेको हो।

‘सरकारबाट बिमावापत प्राप्त हुने रकम नआएपछि अस्पतालको स्रोतले व्ययभार थेग्न नसक्ने अवस्था भयो। त्यसैले सेवाग्राहीले पाउँदै आएको फार्मेसी र प्रयोगशाला सेवाअन्तर्गतको बिमा कार्यक्रम रोक्न बाध्य भएका छौँ,’ चौधरीले भने।

स्वास्थ्य केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ४ हजार ३७६ जनाले स्वास्थ्य बिमामार्फत सेवा लिएका थिए। तर, बिमा सेवा बन्द भएपछि उपचारका लागि आउने बिरामीको संख्या उल्लेखनीय रूपमा घटेको छ। पछिल्लो अवधिमा ६५ जना मात्रै स्वास्थ्य केन्द्रमा सेवा लिन आएको तथ्यांक रहेको छ।

स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बिमा सेवा सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्थानीय सरकारसँग पटक-पटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको गुनासो गरे।

उनले स्वास्थ्य बिमा सेवा पुनः सञ्चालनका लागि आवश्यक रकम तत्काल निकासा गर्न सम्बन्धित निकायसँग माग गर्दै सेवा अवरुद्ध हुँदा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *