कंगना रनौतलाई किन मागियो २५० करोड भारु रुपैयाँ?
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘क्वीन २’ कानुनी विवादमा परेको छ। सन् २०१४ मा प्रदर्शन भएको सुपरहिट फिल्म ‘क्वीन’ निर्माण गरेको फ्यान्टम स्टुडियोले फिल्मको निर्माण तथा प्रदर्शन रोक्न माग गर्दै जियोस्टारविरुद्ध बम्बई उच्च अदालतमा २५० करोड भारतीय रुपैयाँ क्षतिपूर्तिसहित मुद्दा दायर गरेको छ।
फ्यान्टम स्टुडियोले ‘क्वीन २’ आफ्नो सहमति बिना निर्माण गरिएको आरोप लगाएको छ। स्टुडियोका अनुसार सन् २०१४ मा भएको सम्झौताअनुसार ‘क्वीन’को सिक्वेल वा प्रिक्वेल निर्माण भएमा त्यसको स्वामित्व अधिकार फ्यान्टम स्टुडियो र जियोस्टारबीच ५०–५० प्रतिशत रहने व्यवस्था थियो। तर आफूहरूको अनुमति नलिई नयाँ फिल्म अघि बढाइएको दाबी गर्दै स्टुडियोले अदालतसँग फिल्मको प्रदर्शन रोक्न र २५० करोड रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरेको छ।
फ्यान्टमले गत वर्ष मे महिनादेखि यस विषयमा जियोस्टारसँग पटक–पटक सम्पर्क गर्न खोजे पनि कुनै प्रतिक्रिया नपाएको दाबी गरेको छ।
यता, जियोस्टारले भने आरोप अस्वीकार गरेको छ। कम्पनीका अनुसार ‘क्वीन २’ सन् २०१४ को फिल्म ‘क्वीन’ को सिक्वेल होइन, बरु पूर्ण रूपमा नयाँ कथा र नयाँ पात्रमा आधारित स्वतन्त्र फिल्म हो। जियोस्टारले ‘क्वीन’ सामान्य अंग्रेजी शब्द भएकाले त्यसमा कुनै एक कम्पनीको विशेष स्वामित्व हुन नसक्ने तर्क पनि गरेको छ।
सन् २०१४ मा रिलिज भएको ‘क्वीन’ विकास बहलको निर्देशनमा बनेको थियो भने यसको कथा अन्विता दत्तले लेखेकी थिइन्। कम बजेटमा निर्माण भएको उक्त फिल्मले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्नुका साथै राष्ट्रिय चलचित्र पुरस्कारमा ‘सर्वश्रेष्ठ फिल्म’को उपाधि जितेको थियो। यही फिल्मबाट कंगना रनौतले पनि ‘सर्वश्रेष्ठ अभिनेत्री’को राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन्।
हालसम्म ‘क्वीन २’ को प्रदर्शन मिति र अन्य कलाकारबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। तर फिल्म अदालतसम्म पुगेपछि यसको चर्चा बलिउडमा झन् बढेको छ। अब अदालतको निर्णयले फिल्मको भविष्य तय गर्नेछ।
