`

शरीरमा पानीको कमी त भएन ?

Nepal One HD २५ असार २०८३ १२:१३
जीवनशैली/स्वास्थ्य

काठमाडौं। व्यस्त जीवनशैलीका कारण धेरै मानिसले दैनिक रूपमा शरीरलाई आवश्यक पर्ने मात्रामा पानी पिउन सकिरहेका हुँदैनन्।

तर स्वास्थ्य विज्ञहरूका अनुसार पर्याप्त पानी नपिउँदा शरीरका विभिन्न अङ्गको कार्यक्षमतामा असर पुग्नुका साथै दीर्घकालीन स्वास्थ्य समस्या पनि निम्तिन सक्छ।

चिकित्सक डा. प्रवेश हमालका अनुसार शरीरमा पानीको मात्रा घट्दा जोर्नीमा सुक्खापन महसुस हुने, सामान्य शारीरिक गतिविधिमा पनि छिट्टै थकान लाग्ने र कुनै पनि काममा जाँगर नचल्ने जस्ता समस्या देखापर्न सक्छन्।

यसका साथै मस्तिष्कको कार्यक्षमतामा असर पुग्दा स्मरणशक्ति कमजोर हुने, मन ताजगीपूर्ण नरहने र एकाग्रता कायम राख्न कठिन हुने अवस्था पनि सिर्जना हुन सक्छ।

शरीरमा पानी पर्याप्त भए–नभएको कुरा सामान्य संकेतबाट पनि थाहा पाउन सकिन्छ। यदि धेरै तिर्खा लाग्दैन र पिसाबको रङ सफा वा हल्का पहेँलो देखिन्छ भने शरीरमा पानीको मात्रा पर्याप्त रहेको मानिन्छ। तर बारम्बार तिर्खा लाग्ने, पिसाब गाढा पहेँलो हुने वा मात्रा कम हुने अवस्था देखिए शरीरमा पानीको कमी भएको संकेत हुन सक्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार पौष्टिक र सन्तुलित आहार सेवन गरे पनि पर्याप्त पानी नपिए शरीरले त्यसबाट आवश्यक पोषण प्रभावकारी रूपमा उपयोग गर्न सक्दैन। लामो समयसम्म पानीको कमी रहँदा अपच, कब्जियत, ग्यास्ट्रिक, कलेजोसम्बन्धी समस्या, मिर्गौलामा पत्थरी बन्ने जोखिम, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, बारम्बार बिरामी पर्ने, छालामा एलर्जी देखिने, शरीर चिलाउने, अनुहारमा दागधब्बा आउने तथा टाउको दुख्ने जस्ता समस्या बढ्न सक्छन्।

मानव शरीरको करिब ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ। यही पानीले मिर्गौला, कलेजो, फोक्सो, पाचन प्रणालीलगायत शरीरका सबै अङ्गलाई नियमित रूपमा काम गर्न सहयोग पुर्‍याउँछ। साथै शरीरका कोषहरूलाई सक्रिय र स्वस्थ राख्न तथा पोषक तत्त्व र अक्सिजन शरीरभरि पुर्‍याउन पनि पानीको महत्त्वपूर्ण भूमिका हुन्छ।

शरीरमा पानीको कमी हुँदा केही स्पष्ट संकेतहरू देखिन थाल्छन्। पिसाबको रङ गाढा पहेँलो हुनु, मुख र घाँटी सुक्नु, बारम्बार प्यास लाग्नु, छालाको लोच घट्नु, टाउको दुख्नु, रिङ्गटा लाग्नु तथा पाचन प्रक्रिया सुस्त भएर कब्जियत हुनु यस्ता सामान्य संकेत हुन्। हातको छाला हल्का तानेर छोड्दा तुरुन्तै पुरानै अवस्थामा नफर्किनु पनि शरीरमा पानीको कमी भएको एउटा संकेत मानिन्छ।

स्वास्थ्यकर्मीहरूले दैनिक आवश्यकता अनुसार नियमित रूपमा पानी पिउने बानी बसाल्न सुझाव दिएका छन्।

विशेषगरी गर्मी मौसम, धेरै पसिना आउने अवस्था, व्यायाम वा शारीरिक श्रम गर्दा शरीरलाई थप पानी आवश्यक पर्ने भएकाले यस्ता अवस्थामा पानीको मात्रा बढाउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *