मन्त्रालयमै सिभिलको स्वास्थ्य सेवा इकाई : दैनिक ५० भन्दा बढी कर्मचारी लाभान्वित [फोटो-फिचर]
काठमाडौं। निजामती कर्मचारीलाई सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ।
मन्त्रालय परिसरमै स्वास्थ्य सेवा उपलब्ध भएपछि कर्मचारीहरूले सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पताल धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
गत असार १९ गतेदेखि मन्त्रालय भवनको तल्लो तलामा सञ्चालनमा आएको उक्त स्वास्थ्य सेवा इकाईबाट निजामती कर्मचारीलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालिएको मन्त्रालयले जनाएको छ। कार्यस्थलमै स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराइएकाले कर्मचारीको समय बचत हुनुका साथै निजामती कर्मचारी अस्पतालमा हुने सेवाग्राहीको चाप पनि कम हुने विश्वास गरिएको छ।
स्वास्थ्य सेवा इकाईबाट नियमित स्वास्थ्य परीक्षण, रगत परीक्षण, रक्तचाप (ब्लड प्रेसर) जाँच, रगतमा चिनी (ब्लड सुगर) परीक्षणलगायतका आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ। आवश्यकता अनुसार थप प्रारम्भिक स्वास्थ्य परामर्शसमेत प्रदान भइरहेको मन्त्रालयले जनाएको छ।
हाल उक्त सेवा इकाईमा एक जना चिकित्सक, एक जना नर्स, एक जना ल्याब टेक्निसियन, एक जना प्रशासनिक कर्मचारी र एक जना सहयोगी गरी पाँच जना जनशक्ति कार्यरत छन्। उनीहरूले दैनिक रूपमा मन्त्रालयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।
स्वास्थ्य सेवा इकाईमा कार्यरत डा. लक्ष्मी शर्माका अनुसार मन्त्रालयमै सेवा सुरु भएपछि सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पतालमा लामो समय लाइन बस्नुपर्ने समस्या अन्त्य भएको छ। उनले सम्पूर्ण प्रारम्भिक शारीरिक परीक्षण, प्रयोगशाला सेवा, रक्तचाप तथा रगतमा चिनीको परीक्षणजस्ता सेवा नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिइन्।
डा. शर्माका अनुसार सेवा सञ्चालनमा आएयता दैनिक ५० जनाभन्दा बढी कर्मचारी स्वास्थ्य परीक्षणका लागि सेवा इकाईमा आउने गरेका छन्। सेवाप्रति कर्मचारीको आकर्षण बढ्दै गएको र आगामी दिनमा आवश्यकताअनुसार सेवाको दायरा विस्तार गर्ने योजना रहेको पनि उनले बताइन्।
सेवा सञ्चालन भएपछि कर्मचारीहरूले कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध हुँदा समयको बचत भएको, अस्पतालसम्म धाउन नपरेको तथा लामो लाइनमा बस्ने झन्झट हटेको प्रतिक्रिया दिएका छन्।
मन्त्रालयले यस प्रकारको सेवा कर्मचारीमैत्री प्रशासन निर्माणतर्फको महत्वपूर्ण पहल भएको जनाएको छ।
तस्वीरहरू:













