`

कमेडियन सुमन कोइराला ‘तिरिमिरी झ्याइँ’मा हिरो

Nepal One HD २५ असार २०८३ १७:१२
चलचित्र

काठमाडौं। टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ मार्फत लोकप्रिय बनेका कलाकार सुमन कोइराला अब पहिलोपटक नेपाली चलचित्रमा मुख्य भूमिकामा देखिने भएका छन्।

‘दले दाइ’ पात्रबाट दर्शकमाझ परिचित बनेका कोइरालाले ‘तिरिमिरी झ्याइँ’ मार्फत नायकका रूपमा ठूलो पर्दामा डेब्यु गर्न लागेका हुन्।

बिहीबार काठमाडौंस्थित एक मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो। निर्माण टिमका अनुसार चलचित्र पूर्ण रूपमा कमेडी विधामा आधारित हुनेछ र सुमन कोइरालाको हास्य अभिनयलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिनेछ।

चलचित्रमा सुमन कोइरालासँगै धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने र जयराम ढकाललगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक समीरले चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई मनोरञ्जन दिने विश्वास व्यक्त गरे। उनका अनुसार यो विशुद्ध कमेडी फिल्म हुनेछ, जसको मुख्य उद्देश्य दर्शकलाई हँसाउनु हो। उनले चलचित्रको छायांकन असार २९ गतेदेखि सुरु हुने जानकारी दिए।

चलचित्रको कथा र कन्सेप्ट आभास अधिकारीले तयार पारेका हुन्। पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा लेखेका छन्। आभास अधिकारीले कार्यकारी निर्माताको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

राइजन मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको ‘तिरिमिरी झ्याइँ’ का निर्माता प्रद्युम्न बोगटी ‘प्रवीन’ हुन्।

कमेडी कलाकारका रूपमा स्थापित सुमन कोइरालाको चलचित्र यात्रा कस्तो रहनेछ भन्ने प्रतीक्षा अहिले दर्शकमाझ बढ्न थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *