आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा निधन
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
गम्भीर अवस्थामा वीर अस्पतालमा भर्ना गरिएका नेपालीको सघन उपचारका बाबजुद ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार उपचारका क्रममा नेपालीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनको मृत्यु भएको हो। उनी हिजोदेखि वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा उपचाररत थिए।
वीर अस्पतालले यसअघि पत्रकार सम्मेलन गरी गणेश नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको र जुनसुकै बेला थप जटिलता आउन सक्ने जनाएको थियो। उपचारमा संलग्न चिकित्सकहरूले उनको शरीरमा लागेको गम्भीर जलनका कारण अवस्था निकै संवेदनशील रहेको र निको हुने सम्भावना अत्यन्त चुनौतीपूर्ण रहेको बताएका थिए।
अस्पतालका अनुसार नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग आगोले जलेको थियो। विशेषगरी अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेकाले उपचार निकै कठिन बनेको थियो। जलनका कारण श्वासप्रश्वास प्रणाली प्रभावित भएपछि उनलाई बर्न आइसियुमा राखेर निरन्तर निगरानीसहित उपचार गरिएको थियो।
उनको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष चिकित्सकीय टोली परिचालन गरेको थियो। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए।
स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो। तर स्वास्थ्य अवस्था स्थानान्तरण गर्न सक्ने अवस्थामा नरहेकाले उनलाई विदेश लैजान सम्भव नभएको अस्पतालले जनाएको थियो।
चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद अन्ततः गणेश नेपालीको उपचारकै क्रममा निधन भएको हो। घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

सर्वसाधारण दुख दिनु अघि राज्य लेआफ्नो दायित्व पुरा गर्नुपर्छ।पाकिङ स्थल बनाउनु पर्छ ।जानकारी गराउन पर्छ।Yango चलाउने ब्याक्ती सङ्ग१० हजार कसरी हुन्छ?सरकार पनि दोषी छ।