पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि आकस्मिक एन्जियोप्लास्टी
काठमाडौं। बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि आकस्मिक एन्जियोप्लास्टी गरिएको छ। हाल उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
अस्पतालका अनुसार बिहीबार बिहान छातीमा तीव्र दुखाइ भएपछि उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। प्रारम्भिक परीक्षणका क्रममा एक्युट मायोकार्डियल इन्फार्क्सन (हार्ट अट्याक) भएको पुष्टि भएपछि तत्काल एन्जियोप्लास्टी गरिएको हो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विभाग प्रमुख डा. अशोक अधिकारीका अनुसार समयमै अस्पताल ल्याइएकाले आवश्यक उपचार तत्काल सम्भव भएको हो। शल्यक्रियामा डा. अशोक अधिकारी, डा. प्रबिन्द्र महर्जन र डा. आनन्द जिसीको टोली संलग्न रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार शाक्यको स्वास्थ्य अवस्थामाथि चिकित्सकहरूको निरन्तर निगरानी भइरहेको छ भने आवश्यक उपचार आईसीयूमै जारी रहेको छ।
