`

मनिता मृत्यु प्रकरण : एभरेष्ट अस्पताल र चिकित्सकलाई ३९ लाख क्षतिपूर्ति तिर्न अदालतको आदेश

Nepal One HD १ साउन २०८३ १५:३४
जीवनशैली/स्वास्थ्य

काठमाडौं । उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएकी मनिता शर्माको घटनामा अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

अदालतले पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ उपलब्ध गराउन एभरेष्ट अस्पताल र स्त्रीरोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीलाई जिम्मेवार ठहर गरेको हो।

अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार एभरेष्ट अस्पतालले ३० लाख रुपैयाँ र डा. तिवारीले ९ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ।

मनिताका श्रीमान् सुवास पराजुलीले उपचारका क्रममा अस्पताल र चिकित्सकको लापरबाहीका कारण श्रीमतीको मृत्यु भएको दाबी गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए।

मुद्दामाथिको सुनुवाइपछि अदालतले अस्पताल र चिकित्सक दुवैको दायित्व स्थापित गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।

यो निर्णयलाई स्वास्थ्य सेवामा चिकित्सक र स्वास्थ्य संस्थाको जवाफदेहिता तथा बिरामीको अधिकारलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण नजिरका रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *