यशको ‘टक्सिक’ नेपाली निर्मातालाई हुनसक्छ ‘टक्सिक’
काठमाडौं। नेपाली फिल्म उद्योगमा सार्वजनिक बिदालाई लक्षित गरेर प्रदर्शन मिति तय गर्ने पुरानै प्रवृत्ति फेरि एकपटक भदौ १२ मा देखिएको छ।
लगातार तीन दिन सार्वजनिक बिदा पर्ने भएकाले एकै मितिमा पाँच नेपाली फिल्म रिलिज गर्ने तयारी भए पनि अन्तिम समयमा अधिकांश निर्माता पछि हटेका छन्। यसले नेपाली फिल्म बजारमा भारतीय फिल्मको प्रभाव अझै बलियो रहेको संकेत गरेको छ।
भदौ १२ शुक्रबार जनैपूर्णिमा, १३ गते शनिबार गाइजात्रा र १४ गते रोपाइँ जात्राको सार्वजनिक बिदा परेकाले लामो बिदाको अवसरलाई उपयोग गर्ने उद्देश्यले ‘पार्वती’, ‘मास्टर्नी’, ‘जदौ’, ‘बेहुली’ र ‘ग्रेट’ प्रदर्शन गर्ने योजना बनाइएको थियो। तर प्रदर्शन नजिकिँदै जाँदा चार फिल्मले मिति परिवर्तन गरे।
निर्माताहरूले लामो बिदामा दर्शक स्वतः हलसम्म पुग्ने विश्वास राख्ने परम्परा अझै कायम रहेको देखिन्छ। बलियो कथावस्तु र प्रतिस्पर्धी सामग्रीको भरोसामा सामान्य समयमा फिल्म ल्याउनेभन्दा बिदाको अवसर रोज्ने प्रवृत्ति यसपटक पनि दोहोरिएको हो।
यसपटकको फेरबदलको प्रमुख कारण भारतीय अभिनेता यश अभिनीत फिल्म ‘टक्सिक’ मानिएको छ। भारतमा अगस्ट २६ देखि प्रदर्शनमा आउने यो फिल्म नेपालमा भदौ १२ बाट प्रदर्शन हुने तयारीमा छ। ‘केजीएफ’ शृंखलामार्फत नेपाली दर्शकमाझ बलियो लोकप्रियता बनाएका यशको नयाँ फिल्मसँग सीधा प्रतिस्पर्धा गर्न अधिकांश नेपाली निर्माता इच्छुक देखिएनन्।
यसको असरस्वरूप प्रियंका कार्की अभिनीत ‘मास्टर्नी’ भदौ ५ मा सारिएको छ। नीति शाह, मुकुन भुसाल र ऋचा शर्मा अभिनीत ‘जदौ’ असोज ९ मा पुगेको छ भने पारस बम अभिनीत ‘बेहुली’ भदौ २६ मा प्रदर्शन हुने तय गरिएको छ। मनोज पण्डितको फिल्मले पनि भदौ १२ छाडे पनि नयाँ मिति भने घोषणा गरिएको छैन।
यता अभिनेत्री तथा निर्माता नीता ढुंगानाले भने आफ्नो फिल्म ‘पार्वती’ निर्धारित मितिमै प्रदर्शन गर्ने निर्णयबाट पछि नहट्ने संकेत दिएकी छन्। यशको ‘टक्सिक’सँग प्रत्यक्ष बक्स अफिस प्रतिस्पर्धा गर्ने निर्णयले उनको आत्मविश्वासलाई लिएर उद्योगभित्र चर्चा सुरु भएको छ।
नेपाली फिल्मले भारतीय फिल्मसँग प्रत्यक्ष प्रतिस्पर्धा गरेको यो पहिलो घटना भने होइन। विसं २०७९ को नयाँ वर्षमा यश अभिनीत ‘केजीएफ २’ र अनमोल केसी अभिनीत ‘ए मेरो हजुर ४’ एकै समयमा प्रदर्शन भएका थिए। त्यसबेला ‘केजीएफ २’को विश्वव्यापी प्रभावका बीच पनि ‘ए मेरो हजुर ४’ले आफ्नो लगानी उठाएको दाबी गरिएको थियो। त्यसपछि अनमोलको स्टारडम र नेपाली फिल्मको प्रतिस्पर्धी क्षमताबारे सकारात्मक बहस भएको थियो।
यसपटक त्यही शैलीको जोखिम नीता ढुंगानाले लिएकी छन्।
