शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद
सुदूरपश्चिम। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताउनुभएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उहाँ आज धनगढी पुग्नुभएको थियो । सचिव पौडेलले आजै डा केसीसँग उहाँ उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गर्नुभएको थियो । त्यस क्रममा डा केसी र त्यसपछि उहाँका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उहाँले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिनुभयो ।
“आज डा केसी र उहाँका सहयोगीसँग संवाद भएको छ । उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ । आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव यहाँ आएपछि औपचारिक संवाद गरी सहमतिको प्रयास हुनेछ”, रासससँग सचिव पौडेलले भन्नुभयो ।
सरकारले संवाद र सहमतिका माध्यमबाट डा केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्ने उहाँको भनाइ थियो ।
डा केसी विभिन्न पाँच बुँदे माग राखी तीन दिनदेखि अनसनमा बस्नुभएको छ । उहाँको स्वास्थ्यमा समस्या आएपछि अनशनस्थल धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट आजै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि राखिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डा केसीसँग आज सचिव पौडेलसहित सामान्य संवाद तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको बताउनुभयो ।
