बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
नेपालगन्ज। बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि भएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पाटेबाघसहित अन्य वन्यजन्तु अवलोकनका लागि गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४६६ जना पर्यटक यहाँ आएका जानकारी दिनुभयो ।
उहाँले अघिल्लो आव २०८१/८२ मा ६२० जना पर्यटकले मात्र अवलोकन गरेकामा आव २०८०/८१ मा ४४४ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका उल्लेख गर्नुभयो । “पर्यटकको आगमन बढ्नु यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनु हो । तर, सरोकार भएका निकायले पर्यटन प्रवर्द्धनमा योजना बनाई प्रभावकारी कार्यान्वयन गरेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन अझै बढ्न सक्छ”, उहाँले भन्नुभयो ।
प्रमुख संरक्षण अधिकृत कँडेलले निकुञ्जमा पर्यटकको सङ्ख्या चार हजार पु¥याउने लक्ष्य लिइएको उल्लेख गर्दै अर्को वर्षमा लक्ष्य हासिल हुने दाबी गर्नुभयो । निकुञ्जभित्र पर्या–पर्यटनको प्रचुर सम्भावना भएका कारण आन्तरिक तथा बाह्य पर्यटकले मनोरञ्जनका लागि भरपुर लाभ लिनसक्ने औँल्याउँदै उहाँले ‘इकोलोजिकल टुरिजम’मा जोड दिइएको बताउनुभयो ।
पर्यटनका लागि होमस्टे (घरबास) तथा होटल व्यवसायीमा लगानी बढाउन आग्रह गर्दै कँडेलले बाँके र बर्दिया कम्प्लेक्स प्रमुख ‘टाइगर कन्जरभेसन युनिट’ भएको जानकारी दिनुभयो । वातावरण तथा ग्रामीण विकास केन्द्र, बाँकेका प्रमुख धर्म रोकायले सबै सरोकार भएका निकायको पहलबाट पर्यटन प्रवर्द्धन गर्न सम्भव भएको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धन सबैको साझा दायित्व भएकाले आपसी सहकार्य र समन्वयमार्फत पूर्वाधार विकास र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटन व्यवसायी देवानन्द अर्यालले निकुञ्जमा पर्यटन भित्र्याउन विशेष प्याकेजसहित भ्रमण बर्ष घोषणा गर्न आग्रह गर्दै पर्यटकलाई कम्तीमा ५० प्रतिशत छुट दिन आग्रह गर्नुभयो । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेश चौधरीले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन प्रचारप्रसार र पर्यटनसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।
बाँके निकुञ्जमा अहिले २५ वटा वयस्क पाटेबाघसहित चितुवा र अन्य वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ । यहाँ ३४ प्रजातिका स्तनधारी, २७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, नौ प्रजातिका उभयचर र ५५ प्रजातिका माछा गरी कुल ४२२ प्रजातिका प्राणी पाइन्छन् ।विसं २०६७ असार २८ गते स्थापित यो निकुञ्ज नेपालगन्ज विमानस्थलबाट करिब १६ किलोमिटरको दूरीमा रहेको छ ।
