देवानगञ्जको तरंग सिंहदरबारसम्म
काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको हिंसात्मक झडपको असर अब पूर्व-पश्चिम राजमार्ग हुँदै कोशी प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको छ।
देवानगञ्जमा अवस्था क्रमशः सामान्य बन्दै गए पनि घटनाको विरोधमा मंगलबार मोरङ, सुनसरी र सिराहाका विभिन्न स्थानमा प्रदर्शन भएको छ। प्रदर्शनका कारण केही स्थानमा यातायात प्रभावित भएको छ भने बजार, शैक्षिक संस्था र सरकारी कार्यालयसमेत प्रभावित बनेका छन्।
देवानगञ्जमा बोलबम यात्राको तयारीका क्रममा डिजे बाजा बजाउने विषयलाई लिएर दुई समुदायबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने एक जना गम्भीरसहित अन्य नौ जना घाइते भएका थिए।
घटनापछि प्रशासनले कर्फ्यु आदेश जारी गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको थियो।
घटनापछि देवानगञ्जमा सुरक्षा व्यवस्था कडा बनाइएसँगै अवस्था नियन्त्रणतर्फ उन्मुख भए पनि त्यसको विरोध अन्य जिल्लामा देखिएको छ। मंगलबार बिहानैदेखि विराटनगर, इनरुवा, कोशी ब्यारेज आसपास तथा पूर्व-पश्चिम राजमार्गका विभिन्न स्थानमा प्रदर्शनकारीले टायर बालेर विरोध जनाएका छन्। केही स्थानमा सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ।
विराटनगरमा बजार, विद्यालय र सार्वजनिक यातायातसमेत प्रभावित भएका छन्। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै केही विद्यालयले अघिल्लो दिन नै बिदा सम्बन्धी सूचना जारी गरेका थिए। मंगलबार बिहानदेखि मुख्य व्यापारिक क्षेत्रको गतिविधिसमेत सुस्त देखिएको छ।
सुनसरीको इनरुवामा पनि प्रदर्शनको प्रभाव परेको छ। इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले देवानगञ्ज घटनाको असर आफ्नो क्षेत्रमा समेत परेको जानकारी दिएका छन्। उनका अनुसार बजार, नगरपालिका कार्यालय तथा वडा कार्यालयहरू प्रभावित भएका छन् भने स्थानीयमा त्रासको अवस्था कायम छ।
प्रदर्शनकारीहरूले घटनामा राज्यको तर्फबाट अत्यधिक बल प्रयोग भएको आरोप लगाएका छन्। उनीहरूले प्रहरीले कम्मरमाथि गोली चलाएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। प्रदर्शनका क्रममा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामासमेत माग गरिएको छ।
सुरक्षा निकायले भने विभिन्न स्थानमा शान्ति–सुरक्षा कायम राख्न थप सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। संवेदनशील क्षेत्रहरूमा प्रहरी परिचालन बढाइएको छ भने राजमार्गमा सवारी सञ्चालन सहज बनाउन सुरक्षा टोली खटाइएको छ।
देवानगञ्ज घटनाको वास्तविक कारण, गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो र बल प्रयोग आवश्यक थियो वा थिएन भन्ने विषयमा औपचारिक छानबिनको माग भइरहेका बेला त्यसको राजनीतिक र सामाजिक प्रभाव भने सुनसरीभन्दा बाहिरसमेत फैलिएको देखिएको छ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न र शान्ति कायम राख्न आग्रह गरेको छ।
