ओपीडी निःशुल्कदेखि शल्यक्रियामा छुटसम्म, एमएन हस्पिटलको नयाँ योजना
काठमाडौं। बसुन्धरा चौकीस्थित एमएन हस्पिटलले ७० वर्ष वा सोभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकको ओपीडी सेवा निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ। जेष्ठ नागरिकको स्वास्थ्य उपचारलाई सहज, सुलभ र पहुँचयोग्य बनाउने उद्देश्यले अस्पतालले यो विशेष सुविधा सुरु गरेको जनाएको हो।
अस्पतालका अनुसार विशेषज्ञ चिकित्सकको परामर्श निःशुल्क हुनुका साथै विभिन्न स्वास्थ्य सेवामा समेत विशेष छुटको व्यवस्था गरिएको छ। जेष्ठ नागरिकले प्रयोगशाला तथा अन्य परीक्षण सेवामा २० प्रतिशत छुट, शय्या (बेड) शुल्कमा २० प्रतिशत छुट, शल्यक्रिया सेवामा १० प्रतिशत छुट तथा औषधि खरिदमा पनि १० प्रतिशत छुट पाउनेछन्।
एमएन हस्पिटलले बढ्दो उमेरसँगै जेष्ठ नागरिकमा देखिने विभिन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नियमित स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्शलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको जनाएको छ। समयमै उपचार र नियमित स्वास्थ्य परीक्षणले दीर्घरोग तथा अन्य जटिल स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अस्पतालको विश्वास छ।
अस्पतालले उपलब्ध गराएको यो सुविधा प्राप्त गर्न भने सेवाग्राहीले आफ्नो उमेर प्रमाणित हुने नागरिकता वा अन्य आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने जनाएको छ। एमएन हस्पिटलले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत जेष्ठ नागरिक, महिला तथा अन्य सेवाग्राही लक्षित स्वास्थ्य सेवा र सहुलियत कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
