अजित मिजारका परिवारसँग मन्त्री वादीको भेट
काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आज काठमाडौँमा अजित मिजारका परिवारसँग भेट गरी उहाँको मृत्यु प्रकरण तथा न्याय प्राप्तिसँग सम्बन्धित विषयमा विस्तृत छलफल गर्नुभएको छ ।
भेटका क्रममा उहाँको परिवारले वर्षौँदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नुपरेका पीडा, अनुभव तथा न्याय प्राप्तिप्रतिको आफ्नो अपेक्षा मन्त्री वादीसमक्ष राख्नुभएको थियो । मन्त्री वादीले परिवारको भनाइ गम्भीरतापूर्वक सुन्दै उहाँहरूले भोग्दै आउनुभएको पीडाप्रति चासो व्यक्त गर्नुभयो ।
मन्त्री वादीले न्यायका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था कुनै पनि नागरिकका लागि दुःखद भएको उल्लेख गर्दै पीडित परिवारको आवाज सुन्नु, मानवअधिकारको संरक्षण गर्नु तथा विधिको शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
उहाँले सत्य, न्याय तथा संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको उल्लेख गर्दै पीडित परिवारका जायज माग सम्बन्धित निकायसम्म पुर्याउन आवश्यक समन्वय र पहल गर्न मन्त्रालय सक्रिय रहने स्पष्ट पार्नुभयो ।
मन्त्री वादीले जातीय विभेद, सामाजिक अन्याय तथा कुनै पनि प्रकारका भेदभाव विरुद्ध राज्य दृढतापूर्वक उभिनुपर्ने धारणा व्यक्त गर्दै संवैधानिक हकको प्रत्याभूति, समानता र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सबै निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।
