हिमगंगा माविको विकासमा पार्टी, जात र धर्मभन्दा माथि उठेर काम गर्नुपर्नेमा सांसद कार्कीको जोड
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रकाश सिंह कार्कीले हिमगंगा माध्यमिक विद्यालयको शैक्षिक तथा समग्र विकासका लागि पार्टी, जात र धर्मभन्दा माथि उठेर सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।
हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सांसद कार्कीले हिमगंगा माविबाट विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने जनशक्ति उत्पादन भएको बताए। उनले विद्यालयका पूर्वविद्यार्थीहरू डाक्टर, पाइलट, शिक्षक तथा राजनीतिज्ञलगायत विभिन्न क्षेत्रमा पुगेको उल्लेख गरे।
विद्यालयको उन्नतिका लागि पूर्वविद्यार्थी समाजले थालेको पहल सराहनीय रहेको भन्दै कार्कीले त्यसमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले विद्यालयको विकासका लागि संघीय तथा प्रदेश सांसदसँगै स्थानीय तहका जनप्रतिनिधिहरूले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
‘शिक्षा सुधारका लागि पार्टी, जात, धर्म केही पनि छुट्याउनु हुँदैन,’ उनले भने, ‘विद्यालयको उन्नतिका लागि हामी सबै मिलेर काम गर्नुपर्छ।’
कार्कीले व्यक्तिगत रूपमा पनि विद्यालयको विकास र उन्नयनका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए। विद्यालयसँग सम्बन्धित कुनै समस्या वा आवश्यकता भए स्वतन्त्र रूपमा आफूलाई जानकारी गराउन आग्रह गर्दै उनले आफ्नो तर्फबाट गर्न सकिने सबै प्रयास गर्ने बताए।
‘आउने दिनमा पनि विद्यालयलाई एकदम स्वतन्त्र रूपमा केही कुरा छ भने भन्नुहोला। विद्यालयको उन्नयनका लागि मेरो तर्फबाट हुने सबै प्रयत्न गर्नेछु,’ उनले भने।
