तीन सहकारीका २२० साना बचतकर्ताले पाए बचत फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीनवटा समस्याग्रस्त सहकारीका २२० जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।
समितिले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकमबाटै पीडित बचतकर्ताको बचत फिर्ता गरिएको जनाएको छ।
समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएर रकम फिर्ता गरिएको हो। आगामी दिनमा पनि बचतको रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिनेछ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापन गरी प्राप्त हुने रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनबमोजिम फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढिरहेको समितिले जनाएको छ।
