`

मन्त्री बादी र अस्ट्रेलियाली राजदूतबिच भेटवार्ता, आपसी सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता

Nepal One HD २६ साउन २०८३ १८:२५
राजनीति

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा उनीहरूबिच नेपाल–अस्ट्रेलियाबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

मन्त्रालयमा भएको भेटवार्तामा महिला सशक्तीकरण, बाल अधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी), मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो ।

नेपाल र अस्ट्रेलियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको मन्त्री बादीले उल्लेख गरिन् । आगामी दिनमा आपसी सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा उनले जोड दिइन् । शिक्षा, मानव विकास, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अस्ट्रेलियाले नेपाललाई गर्दै आएको विकास सहयोगप्रति उनले धन्यवाद व्यक्त गरिन् ।

त्यसैगरी, अस्ट्रेलियाको छात्रवृत्ति कार्यक्रममार्फत नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, विभिन्न क्षेत्रका पेसाकर्मी तथा सरकारी कर्मचारीको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको मन्त्री बादीले बताइन् । यसबाट नीति निर्माण, कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव परेको उनले उल्लेख गरिन् ।

सामाजिक सुरक्षा र हेरचाह अर्थतन्त्रबिचको अन्तरसम्बन्धका विषयमा चर्चा गर्दै महिलाले घरायसी तथा हेरचाहका क्षेत्रमा गर्दै आएको योगदानलाई आर्थिक रूपमा पहिचान र मूल्याङ्कन गर्न आवश्यक रहेको मन्त्री बादीले बताइन् । आगामी दिनमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीतिगत अनुभव हस्तान्तरण, संस्थागत क्षमता विकास र जनस्तरको सम्बन्ध विस्तारसहितको पारस्परिक साझेदारीका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।

भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल–अस्ट्रेलियाबिचको विद्यमान सहकार्यको महत्त्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान सकारात्मक धारणा व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *