प्रहरी खरिद प्रक्रियामा अनियमितताको आरोप, आईजीपीलाई जिम्मेवारीबाट हटाएर निष्पक्ष छानबिन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले गत फागुन २१ गते सम्पन्न निर्वाचनका लागि नेपाल प्रहरीले गरेको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।
बुधबार बसेको संघीय संसद्को सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि नै प्रश्न उठिसकेको अवस्थामा उनलाई जिम्मेवारीमै राखेर निष्पक्ष छानबिन हुन नसक्ने दाबी गरे।
उनले आरोपित व्यक्तिहरूलाई जिम्मेवारीबाट अलग राखेर तत्काल छानबिन अघि बढाउनुपर्ने माग गरे। तत्कालीन गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएर निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो।
‘तत्काल छानबिन समिति गठन हुनुप¥यो। त्यो समिति बन्दै गर्दा आरोपित मानिसहरूलाई त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ,’ सुनारले भने।
उनले प्रहरीको बर्दीमै बसेर आफूमाथि लागेको आरोपको छानबिन गर्न नमिल्ने भन्दै विषयलाई फौजदारी अभियोगअन्तर्गत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए।
‘बर्दी लाएर छानबिन हुँदैन। बर्दी लाएर बसेर “ल, मलाई छानबिन गर” भन्न पाइँदैन। जसरी अरूमाथि प्रहरीले छानबिन गर्छ, त्यसरी नै यो मुद्दामा पनि गर्नुपर्छ,’ उनले भने।
