`

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

Nepal One HD २७ साउन २०८३ १८:४७
समाचार

सिरहा – पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको ३० प्रतिशत लागतमा निर्माण सुरु भएको लहान–१७ स्थित देवीदह पर्यटकीय आयोजना अहिले अलपत्र अवस्थामा छ । बीस बिघा क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्यकरणका लागि आर्थिक वर्ष २०७७/७८ मा रु छ करोड ९३ लाख बजेट स्वीकृत भएको थियो । निर्माण कम्पनी ‘विकास एण्ड बस्नेत कन्स्ट्रक्सन प्रालि’सँग सम्झौता भई करिब २० प्रतिशत काम सकिए पनि त्यसपछि आयोजना अघि बढ्न सकेको छैन । विगत चार वर्षदेखि निर्माणको काम रोकिएको छ ।

लहान बजारदेखि देवीदहसम्म पुग्ने नौ किलोमिटर सडक ग्राभेल भइसकेको थियो भने पोखरी परिसरमा बन्ने अन्य संरचनाको तयारीसमेत अघि बढेको थियो । चारैतिर घेराबार, इन्टरलक, बोटिङ, स्वीमिङ पुललगायतका संरचना बनाएर यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने महत्वाकाङ्क्षी योजना अघि सारिएको थियो । देवीदह वन उपभोक्ता समितिका अध्यक्ष कपलेश्वर यादव भन्नुहुन्छ, “त्यतिबेला पोखरीलाई व्यवस्थित गरेर पर्यटकीय गन्तव्य बनाउने योजना निकै उत्साहका साथ अघि बढेको थियो । सडक निर्माणदेखि पोखरी परिसरमा विभिन्न संरचना बनाउने तयारीसम्म काम अगाडि बढिसकेको थियो । आयोजना पूरा भएको भए देवीदहको स्वरूप नै फेरिन सक्थ्यो ।” तर अहिले पोखरी वरिपरि निर्माण हुन थालेका संरचनाका अवशेष मात्रै देखिन्छन् ।

विसं २०७९ को स्थानीय तह निर्वाचनपछि परिस्थिति फेरियो । लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीका अनुसार, नयाँ नेतृत्व आएपछि पूर्वनगरप्रमुख मुनि साहको पालामा सुरु भएका आयोजनाहरूको सूची तयार गरी नवीकरण र बजेट निकासा रोकियो ।

सङ्घीय सरकारको करिब रु ८० लाख खर्च भइसकेपछि आयोजनाको बाँकी काम रोकियो । नगरपालिकाले आफ्नो हिस्सामा रहेको ३० प्रतिशत बजेट व्यवस्थापन नगर्दा र भुक्तानी नदिँदा अन्ततः निर्माण कम्पनीले काम अलपत्र छाडेर हिँड्न बाध्य भएको वडाध्यक्ष चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले पटक–पटक यो आयोजना निरन्तरता दिन आग्रह गर्यौं । तर बजेट व्यवस्थापन भएन । अन्ततः निर्माण कम्पनी अधुरै काम छाडेर हिँड्न बाध्य भयो ।”

तर अहिलेका नगरप्रमुख महेशप्रसाद चौधरी भने योजनाहरू राजनीतिक पूर्वाग्रहका कारण नभई वित्तीय जटिलताका कारण रोकिएको बताउनुहुन्छ । “हामी विकासविरोधी होइनौँ, न त पूर्वाग्रह राखेर काम रोक्ने पक्षमा छौँ । विगतको नेतृत्वले प्रक्रियागत वैधता, प्राविधिक तयारी र बजेटको स्रोत सुनिश्चितता नै नगरी केवल लोकप्रिय बन्ने हतारोमा ठूला योजनाहरू अघि बढाएको देखिन्छ,” नगरप्रमुख चौधरीले स्पष्ट पार्नुभयो, “स्रोत नखुलेका र हतारमा ठेक्का लगाइएका आयोजनाले गर्दा पालिकामा गम्भीर वित्तीय जटिलता पैदा हुने भएकाले कतिपय आयोजना रोकिएका हुन् । म निर्वाचित भएर आइसकेपछि कतिपय पुराना आयोजनाहरूको प्राविधिक मूल्याङ्कन, कानुनी प्रक्रिया र स्रोत व्यवस्थापनको अवस्था हेरेर पारदर्शी रूपमा अगाडि बढाइएको छ ।”

सिरहाका अन्य नगरपालिकाहरूमा पनि बहुवर्षीय आयोजनाहरू राजनीतिक खिचातानी, नयाँ नेतृत्वको बेवास्ता र बजेटको स्रोत सुनिश्चितताबिना सुरु गरिएका आयोजनाहरू अहिले बिचमै रोकिएका छन् ।

धनगढीमाई नगरपालिकामा तत्कालीन नगरप्रमुख हरिनारायण चौधरीको कार्यकालमा २०७५ सालमा रु १७ करोड लागतमा १५ श्ययाको नगर अस्पतालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरी निर्माण सुरु गरिएको थियो । दुई वर्षमा सक्नुपर्ने यो आयोजना नयाँ नेतृत्वमा शिवशङ्कर महतो आएपछि भुक्तानी रोकिएर अधुरै छ, जसका कारण स्थानीयवासी पुरानो जीर्ण स्वास्थ्यचौकीबाटै सेवा लिन बाध्य छन् । यसका साथै जनता मावि बेतहा, जनता मावि पूर्वहनुमाननगर, जनता मावि तीनकोनी प्राविधिक विद्यालय र मदन भण्डारी माविका निर्माणाधीन भवनहरू पनि बजेट अभावमा रोकिएका छन् ।

धनगढीमाई–१० मा २०७५ सालमा भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको देशकै एकमात्र स्थानीय तहद्वारा सञ्चालित प्राकृतिक अस्पताल पनि सञ्चालनको अन्तिम तयारीमा पुगेर बन्द हुने अवस्थामा छ । पूर्व नगरप्रमुख हरिनारायण चौधरी भन्नुहुन्छ, “माटो, पानी, बाफ र मालिसबाट उपचार गरिने यो अस्पताल पछिल्लो नेतृत्वको चरम बेवास्ताका कारण बन्द हुन पुगेको हो ।” नयाँ नेतृत्वले पुरानो आयोजनाको दायित्व स्वीकार नगर्दा स्थानीय आयोजना लथालिङ्ग भएको उहाँको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *