खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली
चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट रु एक करोड ५५ लाख तीन हजार ६८५ बक्यौता रकम असुली गरेको छ ।
पाँच हजारभन्दा माथि बक्यौता भएका र छ महिनाभन्दा माथिको पानीको महसुल नबुझाएका ती ग्राहकबाट सो रकम बक्यौता असुली गरिएको हो ।
कार्यालयका प्रमुख सञ्जय बरालका अनुसार गत फागुनदेखि बक्यौता असुलीको काम सुरु गरिएको हो । फागुनदेखि असार मसान्तसम्ममा सो बक्यौता असुली भएको उहाँले जानकारी दिनुभयो । कार्यालयले अझै ५०० ग्राहकबाट रु २० लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । ती लामो समयदेखि महसुल नबुझाएका ग्राहकहरु हुन् ।
बक्यौता नबुझाउने ग्राहकलाई पत्राचार गर्ने, घरदैलो गर्ने, पानीको लाइन काट्ने, एसएमएस गर्ने, ताकेता लगाउनेजस्ता काम भइरहेको उहाँले बताउनुभयो । कार्यालयले बक्यौता असुलीका लागि टोलीनै गठन गरेर काम गरीरहेको छ । गत वर्ष रु १६ करोड ५९ लाख ४२ हजार १०० महसुल बिलिङ गरेकोमा रु १६ करोड ९९ लाख ७२ हजार ४४० सङ्कलन भएको थियो । यो लक्ष्यको दुई दशमलव ५७ प्रतिशतले बढी हो ।
यस्तै भरतपुर महानगरपालिकाले दिँदै आएको सात युनिट पानीमा अनुदानसमेत भुक्तानी गरेको छैन । मङ्सिर महिनादेखिको भुक्तानी नपाएको कार्यालयले जनाएको छ । आठ महिनाको बक्यौता रु एक करोडभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो ।
महानगरवासीलाई बोर्ड र विभिन्न उपभोक्ता समितिबाट सञ्चालित खानेपानी आयोजनाको रकमसमेत भुक्तानी हुन नसक्दा ती आयोजनामा समस्या भएको छ ।
