`

दलित समुदायको मौलिक हक कार्यान्वयन गर्न विधेयक ल्याउँदै सरकार

Nepal One HD २८ साउन २०८३ १९:०७
प्रमुख खबर

काठमाडौं । सरकारले दलित समुदायको हक, अधिकार तथा विकाससम्बन्धी विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा सांसद भूपेन्द्रबहादुर सुनारले दलित समुदायको हक, अधिकार तथा विकाससम्बन्धी सदनबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनको अवस्था र सरकारले गरिरहेको कामबारे प्रश्न गरेका थिए।

जवाफमा मन्त्री गौतमले संविधानको धारा ४० मा व्यवस्था गरिएको दलित समुदायको मौलिक हक कार्यान्वयन गर्न कानुन आयोगले ‘दलितको हक, अधिकार तथा विकाससम्बन्धी विधेयक’ तर्जुमा गरेको जानकारी दिइन्।

उनका अनुसार विधेयकको मस्यौदा महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा प्राप्त भइसकेको छ। विधायन ऐन, २०८१ अनुसार प्रक्रिया अघि बढाउन विज्ञसहितको समिति गठन गरिएको पनि उनले बताइन्।

‘अहिले विधेयकको अन्तिम तयारी भइसकेको छ। के–के सुधार गर्नुपर्छ भन्ने विषयमा सरकारकै मातहतमा मस्यौदा तयार भइरहेको छ,’ मन्त्री गौतमले भनिन्।

विधेयकलाई थप सुधारमुखी बनाउन सांसदहरूबाट प्राप्त सुझाव समेट्न सरकार तयार रहेको उनले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *