मन्त्री निशा र युएनएफपिए प्रतिनिधिबीच स्वास्थ्य सहकार्यबारे छलफल
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधिबीच महिला तथा बालबालिकाको स्वास्थ्य, मातृ स्वास्थ्य र जनसंख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
शुक्रबार भएको भेटमा मन्त्री मेहता र युएनएफपिए प्रतिनिधिबीच नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना आदानप्रदानसमेत भएको थियो। भेटका क्रममा नेपालले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अघि बढाएका सुधारका प्रयास र आगामी प्राथमिकताबारे पनि छलफल भएको बताइएको छ।
युएनएफपिएले नेपालमा महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच विस्तार र सेवाको गुणस्तर सुधारका लागि गर्दै आएको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। विशेषगरी प्रभावकारी रेफरल प्रणाली, परिवार नियोजन तथा लैंगिक समानताका क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा जोड दिइएको थियो।
भेटमा मिडवाइफरी सेवा विस्तार, मानसिक स्वास्थ्य, जलवायु परिवर्तनले मातृ स्वास्थ्यमा पार्ने प्रभाव, जनसंख्या नीति तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिलगायत विषयलाई समेत प्राथमिकताका साथ उठाइएको थियो।
नेपालले महिला तथा बालबालिकाको स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि र अपनाएका केही अभ्यास अन्य देशका लागि समेत सिकाइको विषय बन्न सक्ने भन्दै युएनएफपिएका प्रतिनिधिले चासो व्यक्त गरेका थिए।
त्यस्तै, पछिल्ला स्वास्थ्य चुनौतीको गहन विश्लेषण गर्दै तत्कालीन कार्यक्रम सञ्चालनमा मात्र सीमित नभई दीर्घकालीन प्रभाव पार्ने खालका योजना तथा कार्यक्रममार्फत सहकार्य अघि बढाउने विषयमा समेत छलफल भएको थियो।
मन्त्रालय र युएनएफपिएबीच प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्दै स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउने दिशामा अघि बढ्ने समझदारी भएको जनाइएको छ।
