बन्दीपुरका मानकाजी कसरी बने ५० लाख मूल्यको निजी वनका मालिक?
तनहुँ । तीन दशकअघि तनहुँको बन्दीपुर गाउँपालिका–१ का मानकाजी श्रेष्ठका लागि काठ नै जीविकोपार्जनको मुख्य आधार थियो। काठको व्यापार र उद्योगबाट परिवारको गुजारा चलिरहेको थियो। सुरुसुरुमा उद्योगका लागि चाहिने कच्चा पदार्थ अर्थात् काठ सहजै पाइन्थ्यो। त्यसैले एकदिन काठकै अभावमा आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था आउला भन्ने उनले कल्पनासमेत गरेका थिएनन्। तर समय सधैँ एउटै रहेन। काठ पाउन जङ्गल चहार्नुपर्ने अवस्था आयो र बजारमा पनि आवश्यक परिमाणमा काठ पाउन कठिन हुन थाल्यो।
अन्ततः कच्चा पदार्थको अभावमा उनको काष्ठ उद्योग बन्द हुने अवस्थामा पुग्यो। उद्योग बन्द हुने पीडाले उनलाई निराश मात्र बनाएन, आफ्नै तरिकाले समस्या समाधान गर्ने अठोट पनि जन्मायो। श्रेष्ठ भन्छन्, ‘काठ नै नपाएर उद्योग बन्द गर्नुपर्ने अवस्था अरूलाई नआओस् भन्ने लाग्यो। त्यसपछि आफैँ रुख रोप्छु, आफ्नै वन बनाउँछु भन्ने सोच आयो।’ त्यही सोचले उनलाई व्यवसायीबाट वन उद्यमीतर्फ डोहोर्यायो।
कृषि उत्पादनका लागि उर्वर मानिएको आफ्नो १२ रोपनी जग्गामा मानकाजीले सालका बिरुवा रोप्न थाले। खेतीयोग्य जमिनमा रुख रोप्न थालेपछि कतिपयले उनको निर्णयको आलोचनासमेत गरे। कृषि उब्जनी हुने जग्गा किन वन बनाउन लागेको भन्दै प्रश्न उठे पनि मानकाजी आफ्नो निर्णयबाट पछि हटेनन्। बुबाको साथ र आफ्नै इच्छाशक्तिले उनलाई अघि बढायो। वर्षौंअघि रोपिएका ती साना बिरुवा अहिले ठूला रुख बनिसकेका छन्।
बिहानको समय आफ्नै हातले हुर्काएको वनमा बिताउँदा मानकाजीलाई आज पनि उत्तिकै आनन्द लाग्छ। श्रेष्ठ भन्छन्, ‘बिरुवा रोप्ने पहिल्यैदेखिको मेरो रुचि र काठ उद्योगमा कच्चा पदार्थ नपाउँदाको पीडाले मलाई वन आफैँ बनाउनुपर्छ भन्ने लाग्यो।’ उनले थपे, ‘त्यसपछि निजी वनमा सालका रुख लगाउन सुरु गरेको हुँ, अहिले त एभोकाडो र कागती पनि लगाएको छु।’ अहिले हरेक बिहान आफैँले बनाएका वनको हरियाली हेर्दै स्वच्छ हावाबाट श्वास फेर्दै चिरबिरचिरबिर चराचुरुङ्गीको आवाजमा हराउँदा उनलाई अझै बढी आनन्द आउने गरेको छ।
केही वर्षअघि लगाइएका बिरुवा अहिले रुख बनिसकेका छन्। त्यसपछि अहिले थप ३० रोपनी जग्गामा एभोकाडो र कागतीका बोट लगाइएको छ। मानकाजीका लागि हरित अर्थतन्त्र उत्पादनको स्रोत बनेको छ, उनको निजी वन। त्यसबेला उनलाई आजजस्तो वनबाट आम्दानी लिन सकिन्छ भन्ने लागेको थिएन तर सानैदेखि बिरुवा लगाउने, हरियालीमा गएर बस्न र खेल्न मन पराउने उनको स्वभाव थियो। त्यही प्रकृतिको मोहले उनलाई वन उद्यमी बनायो।
पहिला पहिला वनलाई घाँसदाउरा लिन सहज हुन्छ भनेर लगाउने गरिन्थ्यो। वन जीविकोपार्जनमुखी थियो भने अब व्यवसायीमुखी बन्दै जान थालेको छ। मानकाजी भन्छन्, ‘अहिले त म काठमाडौँमा छु, तर मलाई कहिले घर पुगेर आफ्नो वन वरपर घुमौँ जस्तो भइसक्यो।’ उनले थपे, ‘वरपर घुम्दा पनि एकदमै रमाइलो लाग्छ।’
रुखको सङ्ख्या यकीन गर्न उनलाई नै गाह्रो छ। श्रेष्ठका अनुसार अहिले वनमा रहेका रुखको मूल्य मात्रै हेर्दा लाखौँ रुपैयाँ बराबरको सम्पत्ति तयार भएको छ। श्रेष्ठ भन्छन्, ‘रुखहरू त थुप्रै छन्, गनेर साध्य नै छैन।’ उनले अगाडि भने, ‘अहिले राम्रोसँग काटेर बेच्न पाउने व्यवस्था भयो भने आधा करोड मूल्य बराबरका रुख बेच्न मिल्ने अवस्थामा छन्।’ एउटा रुख काट्दा त्यसको ठाउँमा नयाँ रुख हुर्काउने र वनलाई निरन्तर उत्पादनशील बनाइराख्ने उनको सोच छ। उनले सोधे, ‘यदि १० वटा रुख काटियो भने २० वटा त हुर्काउनुपर्यो नी !’
बुबाको प्रभावले बनायो वन उद्यमी
उनका बुबाको पालादेखि नै घर वरिपरि विभिन्न प्रजातिका रुखबिरुवा रोप्ने गरिएको थियो। त्यसैको प्रभाव आफूमा पनि परेको श्रेष्ठको भनाइ छ। उनी भन्छन्, ‘घर वरिपरि पनि रुखबिरुवा रोप्न असाध्यै मन लाग्थ्यो, बुबाहरूको पालादेखि नै रुखबिरुवा रोपिराख्नुहुन्थ्यो।’ पछि उनी आफैँ काष्ठ उद्योगमा जोडिए। उनका अनुसार २०४६/४७ सालतिरै काष्ठ उद्योग सञ्चालनमा थियो।
उद्योगका लागि काठ आवश्यक पर्न थालेपछि जङ्गल खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न आफैँ बिरूवा रोप्न अग्रसर भएका हुन् मानकाजी। काठको आवश्यकता र वनसँगको आफ्नो रुचि जोडिँदै गएपछि श्रेष्ठले आफ्नै जग्गामा रुख हुर्काउने योजनालाई बुबाले साथ दिए। आफ्नै जग्गामा सुरूमा साल र सिसौलगायतका रुख रोप्न थालिएको हो।
सालको वनमा लाखौँको सम्भावना
श्रेष्ठको निजी वनमा प्रायः सालका रुख छन्। उनले लामो समयदेखि सालका रुख संरक्षण गर्दै आएका छन्। वनमा रहेका सालका रुख हुर्किसकेका छन् भने झरेका सालका पात पनि ठूलो परिमाणमा छन्। श्रेष्ठको वन उद्यमबाट आर्थिकोपार्जनको सपना काठमा मात्र सीमित छैन। सालको पातबाट दुनाटपरी उत्पादन गर्ने योजना पनि उनको छ।
सालको पातलाई सामान्यतया वनमा झरेर कुहिने वस्तुका रूपमा हेर्ने गरिए पनि उनले त्यसलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने सम्भावना देखेका छन्। दुनाटपरी उत्पादनका लागि आवश्यक मेसिन, लागत र बजारबारे अध्ययन गरेर स्थानीयलाई रोजगारी दिने उनको योजना छ। उनी भन्छन्, ‘सालका पातबाट दुनाटपरी बनाउने र स्थानीयलाई रोजगारी दिने मेरो इच्छा छ।’
वनमा उत्पादन हुने हरेक वस्तुलाई आर्थिक मूल्यमा रूपान्तरण गर्ने श्रेष्ठको योजना प्रशंसनीय छ। सालको रुखबाट काठसँगै पात अर्को उत्पादन बन्न सक्छ भने फलफूलले थप आम्दानी दिन सक्छ। यसरी एउटै वन स्रोतबाट विभिन्न प्रकारका आर्थिक गतिविधि सिर्जना गर्न सकिने उनको सोच छ। वन हुर्काउन वर्षौं लाग्छ। बिरुवा रोपेको केही समयमै आम्दानी आउँदैन। संरक्षण, गोडमेल, व्यवस्थापन र लामो प्रतीक्षापछि मात्रै रुखले आर्थिक मूल्य प्राप्त गर्छ। श्रेष्ठ निजी वनलाई दीर्घकालीन लगानीका रूपमा बुझ्नुपर्ने बताउँछन्।
उनी भन्छन्, ‘रुख हुर्काउनेलाई प्रोत्साहन चाहिन्छ, र काटेर बजारमा बेच्न सहज रूपमा जहिले जतिबेला पनि आउने कानुन व्यवस्था भएमा अझै उत्साह बढ्छ।’ उनले थपे, ‘आफैँले रोपेको बिरुवा आफैँले काट्न पाइएन भने त उत्साह पनि हुँदैन नी।’
श्रेष्ठको गुनासो भने निजी वनको उत्पादन बजारसम्म लैजाने क्रममा देखिने प्रक्रियागत झन्झटिलोपनमा छ। उनका अनुसार निजी वनसम्बन्धी कानुनी व्यवस्था भए पनि व्यवहारमा रुख कटान तथा उपयोगका क्रममा विभिन्न प्रक्रिया र अवरोधले निजी वनधनीलाई निरुत्साहित बनाउने गरेको छ। उनी भन्छन्, ‘निजी वनमा राम्रो सम्भावना छ, तर सरकारी सम्बन्धित निकायबाट अझै सहज वातावरण बन्नुपर्छ।’
श्रेष्ठ निजी वनमा लामो समय श्रम र लगानी गरेका व्यक्तिलाई प्रोत्साहन गर्नुपर्ने पक्षमा छन्। निजी वनबाट उत्पादन हुने काठ तथा अन्य वन पैदावारलाई व्यवस्थित रूपमा बजारमा लैजान सकिएमा यसले आयात घटाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने उनको विश्वास छ।
नेपालमा ठूलो मात्रामा वन स्रोत रहे पनि त्यसको उपयोगबाट पर्याप्त आर्थिक लाभ लिन नसकिएको मानकाजी बताउँछन्। उनी भन्छन्, ‘वनपैदावार निजी वनमा छन्, सामुदायिक वनमा छन्, कबुलियती वनमा छन्, तर व्यवस्थापनसम्बन्धी राम्रो नीति नहुँदा धेरै वन पैदावार कुहिएर जाने अवस्था छ।’
बाँदरबाट जोगाउन एभोकाडो
वनसँगै मानकाजीले विभिन्न फलफूलका बिरुवा लगाउने योजना बनाए। तर पछिल्लो समय बाँदरले हैरानी बनायो। घरघर आएर तरकारी, फलफूल तथा अन्य कृषि बालीमा हानि गर्न थाल्यो। बाँदरको समस्याबाट जोगाउन उनले एभोकाडो रोप्ने योजना बनाए। श्रेष्ठ भन्छन्, ‘अन्य फलफूल खेती गरौँ भने बाँदरबाट जोगाउनै नसकिने। एभोकाडो चाहिँ बाँदरले नखाने रहेछ, विस्तारै हामीले बाँदरले नखाने खेतीको विकल्प खोज्नुपर्ने बेला आएको छ।’
