नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रमा नै वर्चश्व जमाउनुपर्ने बेला आयो : इञ्जिनियर गौरी पण्डित
काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका सभापति इञ्जिनियर गौरी पण्डितले देशभरका स्वतन्त्र इञ्जिनियरलाई संगठित गर्दै संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । उनले इञ्जिनियरहरूको पेसागत हक, अधिकार र क्षमता अभिवृद्धिका लागि नेशनल इन्जिनियरर्स एसोसिएसनलाई केन्द्र, प्रदेश तथा जिल्ला तहसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने बताए । आगामी दिनमा इञ्जिनियरिङ क्षेत्रको नेतृत्वमा संगठनको प्रभावकारी उपस्थिति आवश्यक रहेको भन्दै पण्डितले केन्द्रमा समेत संगठनको बलियो उपस्थिति कायम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेश्नल इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रिय महासचिव तपेश्वर यादवले इञ्जिनियरिङ पेसालाई मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउन पेसागत दक्षता तथा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै यादवले इञ्जिनियरिङ पेसालाई राजनीतिक गतिविधिको थलो बनाउन नहुने धारणा राखे । उनले इञ्जिनियरहरू पेसागत रूपमा उत्तरदायी हुँदै आफ्नो क्षमता विकासमा निरन्तर लाग्नुपर्नेमा जोड दिए । यादवले वर्तमान प्रतिस्पर्धात्मक बजारमा केवल शैक्षिक प्रमाणपत्रले मात्र पर्याप्त नहुने भन्दै इञ्जिनियरहरूले व्यवहारिक ज्ञान, सीप र गुणस्तरीय काममा ध्यान दिनुपर्ने बताए । उनका अनुसार गहिरो अध्ययन र निरन्तर सिकाइले मात्रै इञ्जिनियरिङ क्षेत्रमा दीर्घकालीन सफलता हासिल गर्न सकिन्छ ।
कार्यक्रममा सहभागी इञ्जिनियरहरूले संगठनलाई केन्द्र, प्रदेश र जिल्ला तहसम्म विस्तार गर्दै इञ्जिनियरका पेसागत समस्या तथा आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताएका थिए । अन्तरक्रियाका सहभागीहरूले इञ्जिनियरहरूबीच एकता, सहकार्य र पेसागत अधिकारका लागि साझा अभियान अघि बढाउनुपर्ने निष्कर्ष निकालेका छन् । साथै, बदलिँदो प्राविधिक तथा व्यावसायिक वातावरणअनुसार इञ्जिनियरहरूको क्षमता अभिवृद्धि गर्दै संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउनुपर्नेमा जोड दिइएको छ।
