`

एम्बुलेन्स नै थला परेपछि बिरामीको बिजोग

Nepal One HD ३१ साउन २०८३ १४:४८
जीवनशैली/स्वास्थ्य

काठमाडौं। मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स जीर्ण भएपछि गम्भीर बिरामीको उपचारमा समस्या हुने गरेको छ।

करिब १५ वर्ष पुरानो एम्बुलेन्स पटकपटक बिग्रिने गरेपछि बिरामीलाई अस्पतालभित्रै ओसारपसार गर्नसमेत कठिनाइ हुने गरेको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार अस्पतालसँग एम्बुलेन्स भए पनि भरपर्दो अवस्थामा छैन। एम्बुलेन्स बिग्रिरहने भएकाले आकस्मिक अवस्थामा बिरामीलाई समयमै अन्य अस्पताल लैजान समस्या हुने गरेको उनको भनाइ छ।

गम्भीर बिरामी, दुर्घटनाका घाइते तथा प्राकृतिक विपद्का घटनामा परेकालाई थप उपचारका लागि पोखरा वा अन्य सुगम स्थानमा रहेका अस्पतालमा रिफर गर्नुपर्दा एम्बुलेन्सको अभावले समस्या झनै जटिल बन्ने गरेको डा. कँडेलले बताइन्।

उनका अनुसार नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग करिब दुई वर्षदेखि पटकपटक माग गरिए पनि अहिलेसम्म नयाँ एम्बुलेन्स प्राप्त भएको छैन।

अस्पताल नजिकै रहेको घरपझोङ गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएर सञ्चालनमा नरहेपछि बिरामीका लागि थप समस्या सिर्जना भएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासँग एम्बुलेन्स भए पनि हाल सञ्चालनमा नरहेको जानकारी दिए।

मुस्ताङका पाँच स्थानीय तहमध्ये चार स्थानीय तहसँग गरी आठवटा एम्बुलेन्स रहेको भए पनि तीमध्ये आधा मात्रै सञ्चालनमा रहेको जनाइएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासँग भने एम्बुलेन्स नै छैन।

उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका एम्बुलेन्स भने नियमित रूपमा सञ्चालनमा रहेको बताइएको छ।

भौगोलिक रूपमा विकट तथा सडक यातायातका दृष्टिले चुनौतीपूर्ण मुस्ताङमा आकस्मिक उपचारका लागि एम्बुलेन्स महत्वपूर्ण साधन हो।

जिल्लाभित्रै भरपर्दो एम्बुलेन्स सेवा नहुँदा गम्भीर बिरामीलाई समयमै सुविधासम्पन्न अस्पताल पुर्‍याउन कठिनाइ हुने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *