`

जाजरकोट पहिरो प्रभावितका लागि कर्णाली सरकारका सात निर्णय, राहतदेखि पुनःस्थापनासम्म

Nepal One HD ३१ साउन २०८३ २०:०१
प्रमुख खबर

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङलगायत क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारले सातवटा निर्णय गरेको छ । शनिबारको अविरल वर्षापछि रिसाङ क्षेत्रमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने केही नागरिक घाइते भएका छन् र करिब दुई सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

प्रदेश सरकारको निर्णयअनुसार बाढीपहिरोमा परी ज्यान गुमाउने व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

त्यस्तै, भेरी नगरपालिका–२ रिसाङलगायत प्रभावित क्षेत्रमा रहेका नागरिकलाई प्रदेश सरकारको तर्फबाट आवश्यक राहत सामग्री यथाशीघ्र उपलब्ध गराउने निर्णय गरिएको छ । यसअघि प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार त्रिपाल, ब्ल्याङ्केट, खाद्यान्न, टेन्टलगायत राहत सामग्री पठाइसकेको छ ।

पहिरोबाट घर, पशुपन्छी तथा कृषि बालीमा भएको क्षतिको यथार्थ विवरण सम्बन्धित कृषि कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको समन्वयमा संकलन गर्ने र त्यसका आधारमा प्रदेशको सम्बन्धित मन्त्रालयले आवश्यक प्रबन्ध मिलाउने निर्णय पनि गरिएको छ ।

पहिरोबाट विस्थापित भएका नागरिकको स्वास्थ्य उपचारलगायतका आवश्यक व्यवस्थापन सामाजिक विकास मन्त्रालयमार्फत गर्ने निर्णय भएको छ । जोखिममा रहेका तथा विस्थापित नागरिकलाई भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालयमा सुरक्षित रूपमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *