`

बिजुलीको पोल ढलेपछि अशोकधाममा सातजनाको निधन

Nepal One HD १ भदौ २०८३ १३:१६
प्रमुख खबर

काठमाडौं । भारतको बिहारस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भएको भागदौडमा कम्तीमा सात जना भक्तजनको मृत्यु भएको छ। घटनामा केही भक्तजन घाइते भएका छन्।

साउन महिनाको तेस्रो सोमबार शिव मन्दिरमा पूजा तथा जल चढाउन ठूलो सङ्ख्यामा भक्तजन अशोकधाम पुगेका थिए। बिहानैदेखि मन्दिर परिसर र आसपासका क्षेत्रमा भक्तजनको भीड बढ्दै गएको थियो। मन्दिरमा जाने भक्तजनको लाम अशोकधाम रेलवे हाल्टसम्म पुगेको थियो।

भीड व्यवस्थापन भइरहेका बेला रेलवे हाल्ट नजिक रहेको विद्युत्को पोल अचानक ढलेपछि घटनाले भयावह रूप लिएको हो। पोलसँग जोडिएको तार खसेपछि त्यसमा करेन्ट प्रवाह भइरहेको हल्ला फैलिएको थियो। उक्त हल्लासँगै भक्तजनबीच त्रास उत्पन्न भएपछि एक्कासि भागदौड मच्चिएको प्रशासनले जनाएको छ।

लखीसरायका जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमारका अनुसार भागदौडका क्रममा विशेषगरी महिलातर्फको लाममा अत्यधिक चाप परेको थियो। मानिसहरू ज्यान जोगाउन हतारिएर भाग्न खोज्दा केही भक्तजन लडेको र उनीहरूमाथि अरू मानिससमेत खसेका थिए।

मजिस्ट्रेट कुमारले घटना निकै छोटो समयमा अचानक भएको बताए। उनका अनुसार करिब दुई मिनेटमै स्थिति नियन्त्रणबाहिर पुगेको थियो। घटनास्थलमा प्रहरी तथा प्रशासनका सुरक्षाकर्मी बिहान ३ बजेदेखि नै परिचालन गरिएको थियो।

लखीसरायका एसडीपीओ शिवम कुमारले सात जनाको मृत्यु भएको पुष्टि गरेका छन्। प्रारम्भिक रूपमा विद्युत्को पोल ढलेपछि करेन्ट लागेको जानकारी आए पनि भागदौडको वास्तविक कारण र घटनाको सम्पूर्ण अवस्थाबारे अनुसन्धान भइरहेको उनले बताए।

मृत्यु हुने सबै महिला भक्तजन रहेको जिल्ला प्रशासनले जनाएको छ। घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी लखीसराय सदर अस्पताल तथा आसपासका स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। घटनास्थलमा प्रहरी, जिल्ला प्रशासन र आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो।

बिहारका मन्त्री विजय कुमार सिन्हाले घटनाप्रति दुःख व्यक्त गर्दै विद्युत्को तारमा करेन्ट प्रवाह भइरहेको भन्ने हल्लाले भक्तजनमा त्रास सिर्जना गरेको बताए। उनले गलत सूचना वा हल्ला फैलाउने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गरिने बताएका छन्।

केन्द्रीय मन्त्री राजीव रञ्जन ‘लालन’ सिंहले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले साउन महिनाको सोमबारका कारण अशोकधाममा ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएको उल्लेख गरेका छन्।

घटनापछि बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सरकार पीडित परिवारको साथमा रहेको बताएका छन्।

ठूलो धार्मिक भीड जम्मा हुने स्थानमा विद्युत् तथा अन्य पूर्वाधारको सुरक्षाबारे प्रश्न उठाउँदै घटनापछि सुरक्षा व्यवस्थाको समीक्षा गर्नुपर्ने आवाजसमेत उठेको छ। प्रशासनले भने घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *