प्रधानमन्त्री बालेनसँग गण्डकीका मुख्यमन्त्री पाण्डेको भेट
गण्डकी – प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच अन्तरसरकार सहकार्य तथा समन्वयका विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट विभिन्न विषयमा सङ्घ सरकारको ध्यानाकर्षण गराउनुभएको उनले बताए । भेटवार्ताका क्रममा प्रदेश सरकारले बनाएका कानुन कार्यान्वयनमा सहजीकरण, अधिकार प्रत्योजन, जग्गा प्राप्ति, पूर्वाधार विकासलगायत विषयमा छलफल भएको थियो । उनले नवलपुर जिल्लाको त्रिवेणी गाउँपालिकाको दुम्कीबाँसबास त्रिवेणीसम्मको हुलाकीमार्गको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडक निर्माणका लागि सहजीकरण गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।
गण्डकी प्रदेशमा प्रस्तावित लोकाहाखोला र पुँडीटार औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति तथा मनाङ, मुस्ताङ र गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जग्गाको नापी तथा दर्ताका लागि आवश्यक व्यवस्था मिलाउन मुख्यमन्त्री पाण्डेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रेस संयोजक सापकोटाले जानकारी दिए ।
त्यस्तै अन्नपूर्ण संरक्षण र मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने वन क्षेत्रलाई प्रदेश सरकारको मातहतमा ल्याउने तथा ती संरक्षण क्षेत्रभित्रका नदीजन्य पदार्थको सङ्कलन, व्यवस्थापन र उपयोग गर्न स्थानीय तहलाई अधिकार प्रदान गर्ने विषयमा छलफल भएको प्रेस संयोजक सापकोटाले बताए ।
मुख्यमन्त्री पाण्डेले ‘गण्डकी प्रदेश घरेलु मदिरा ऐन, २०८२’ कार्यान्वयनका लागि औद्योगिक व्यवसाय निवमावलीको उद्योग स्थापनासम्बन्धी अधिकार प्रत्यायोजन तथा घरेलु मदिराको अन्तःशुल्कको दर निर्धारणका लागि सहजीकरण गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।
