‘सरकार जनअपेक्षा पूरा गर्न असफल भयो’
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईले वर्तमान सरकार जनताको अपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालयका मन्त्रीसम्मले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको टिप्पणी गरे।
उनले सीमा सुरक्षा, शान्ति–सुरक्षा, मल तथा खाद्यान्नको सहज आपूर्ति, रोजगारी सिर्जना र बढ्दो महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा सरकारको काम प्रभावकारी हुन नसकेको बताए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै राईले सुनसरीको रामधुनी–७ मा रहेको ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको भनिएको विषयमा स्थानीय बासिन्दालाई न्याय दिलाउन माग गरे।
त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारीका बचतकर्ताको ठूलो रकम जोखिममा परेको भन्दै उनले पीडितको रकम फिर्ताका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताए।
राईले सहकारी पीडितले रकम फिर्ता पाउन नसकेको, न्यायिक प्रक्रियामाथि समेत जनविश्वास कमजोर बन्दै गएको र स्वास्थ्य सेवामा सर्वसाधारणले सहज उपचार नपाइरहेको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए।
उनले सरकार संसद्प्रति र संसद् जनताप्रति उत्तरदायी हुनुपर्ने भन्दै जनताको समस्या समाधान नभएसम्म संसद्मा हुने बहसको औचित्यमाथि प्रश्न उठ्ने बताए।
