`

अन्नपूर्णद्वारा दिवङ्गत पर्वतारोही पुर्जाको सम्मानमा शालिक बनाउने

Nepal One HD २ भदौ २०८३ २०:४०
समाचार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवङ्गत कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स) दाईको सम्मान र स्मृतिमा उहाँको जन्मथलोमा शालिक बनाउने भएको छ ।

गाउँ कार्यपालिकाको आज बसेको बैठकले गत साउन १४ गते पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा हिउँपहिरोमा पुरिएर ज्यान गुमाएका १० सदस्यीय पर्वतारोहण टोलीको नेतृत्व गर्नुभएका पुर्जाको शालिक बनाउने निर्णय गरेको हो ।

“परिवारका सदस्यहरूको इच्छाअनुसार निर्मलको साहस, बहादुरी र कीर्तिमान तथा योगदानको सम्मानमा अन्नपूर्ण गाउँपालिका-३ दानामा गाउँपालिकाले शालिक बनाउने निर्णय गरेका हौँ”, गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो, “निर्मलको जन्मथलो अन्नपूर्ण गाउँपालिकाको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाललाई निम्सदाई अन्नपूर्ण नामाकरणका लागि सङ्घीय सरकारलाई सिफारिस गरेका छौँ ।”

अन्नपूर्णका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको नामबाट नामकरण गरिएको नारच्याङबाट अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गलाई निम्सदाई मौरिस हर्जोग नामाकरण गर्न हर्जोगका परिवारसँग परामर्श लिएर निर्णय गरिने अध्यक्ष पुनले बताउनुभयो ।

सन् २०१९ मा पुर्जाले ‘प्रोजेक्ट पसिबल’ नाम दिएर अन्नपूर्णबाट सुरु गरेको अभियानमा विश्वका सबै १४ वटा आठ हजारमाथि उचाइ भएका हिमाल छ महिना छ दिनमा आरोहण गरेर सबैभन्दा छोटो अवधिमा आठ हजार मिटर अग्ला सबै हिमाल चढेको कीर्तिमान बनाउनुभएको थियो ।

अठार वर्षको उमेरमा सन् २००३ मा ब्रिटिश गोर्खा रेजिमेन्टमा भर्ती भएका निर्मलले सन् २००९ मा बेलायतको ‘स्पेशल बोट सर्भिस एसबिएस’ विशेष फौजमा आबद्ध हुनुभएको थियो । अक्सिजनबिना विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल दुई पटक आरोहण गर्ने कीर्तिमान बनाउने क्रममा पुर्जाको हिमपहिरोमा पुरिएर निधन भएको थियो ।

तीन वर्षअघि निर्मलले घोषणा गरेको रु ४० लाखको अक्षयकोषको ब्याजबाट ज्ञान प्रकाश नमुना माविको कक्षा ८, १० र १२ मा सर्वोकृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा दानाका अन्य चार वटा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *