स्थानीय निर्वाचनमा रास्वपासँग मुख्य प्रतिस्पर्धा हुन्छ : धवलशम्शेर राणा
काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष धवलशम्शेर राणाले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग हुने दाबी गरेका छन्।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग आफ्नो पार्टीको प्रतिस्पर्धा नरहेको बताएका हुन्।
राप्रपाभित्र जारी विवाद र सांसद निष्कासनको विषयलाई कटाक्ष गर्दै उनले राप्रपाको आन्तरिक झगडाप्रति आफूहरूको चासो नरहेको बताए।
‘हामीलाई राप्रपाको मतलब नै छैन। लडिरहून्, झगडिरहून्, जे–जे गर्छ गरिरहून्। यिनको पछि हामी जाने नै होइन,’ उनले भने।
राप्रपाभित्रको विवादप्रति व्यंग्य गर्दै राणाले सामाजिक सञ्जालमा समाचार तथा गतिविधि हेर्दा आफूहरूलाई हाँसो लाग्ने टिप्पणीसमेत गरे। ‘मोबाइल हेर्दा पनि हाँसो लाग्छ, भर्खरै माननीयहरूलाई निकाल्दै छन्, यिनीहरूको झगडा अझै सकिएको छैन,’ उनले भने।
राणाले आगामी स्थानीय तह निर्वाचनलाई जय नेपाल पार्टीले प्रमुख प्राथमिकतामा राखेको बताए।
