वैदेशिक सहायता घट्दै गएको भन्दै प्रभावकारी उपयोग र खर्च क्षमता बढाउन अर्थमन्त्री वाग्लेको जोड
अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।
सार्वजनिक लेखा समितिको आजको बैठक उहाँले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा रहेको र खर्च पनि कम भएको वास्तविकता सुनाए ।
अर्थमन्त्री वाग्लेले चालु बजेटमा वैदेशिक ऋण रु दुई खर्ब ४७ अर्ब र अनुदान रु ६२ अर्ब प्रक्षेपण गरिए पनि अनुदानको वास्तविक प्राप्ति रु १० देखि १५ अर्बमा सीमित रहेको बताए ।
विश्व बैंक र एसियाली विकास बैंकबाट मुुलुकले सहुलियतमा ऋण प्राप्त गर्दै आएको तर अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको नेपाललाई सहुलियतमा ऋण प्राप्त नहुने परिस्थिति सृजना भएको अर्थमन्त्रीले बताए ।
बितेका ५० वर्षमा नेपालले प्रशस्त सहुलियतपूर्ण ऋण प्राप्त गरेको तर खर्च क्षमता नहुँदा, खरिद प्रक्रिया र प्रशासनिक ढिलासुस्तीका कारण त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए।
