`

किष्ट प्रत्यारोपण केन्द्र : निजी अस्पतालमै बालिकाको सफल कलेजो प्रत्यारोपण, नेपालमा नयाँ इतिहास

Nepal One HD ५ भदौ २०८३ ८:४३
जीवनशैली/स्वास्थ्य

ललितपुर । नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको उक्त सफल प्रत्यारोपणलाई नेपालमा बालबालिकाको कलेजो प्रत्यारोपण सेवाको विकासतर्फ महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

विल्सन रोगका कारण गम्भीर स्वास्थ्य समस्यामा पुगेकी ती बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको अस्पतालले जनाएको छ। बालिकाको स्वास्थ्य अवस्था जटिल भएपछि विभिन्न विशेषज्ञ चिकित्सकको टोलीले करिब एक महिनासम्म निरन्तर उपचार र निगरानी गरेको थियो। सघन उपचार तथा विभिन्न विशेषज्ञको संयुक्त प्रयासबाट उनको स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गर्ने निर्णय गरिएको थियो।

वि.सं. २०८३ भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन्। आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको किष्ट प्रत्यारोपण केन्द्रले जनाएको छ। बालबालिकामा कलेजो प्रत्यारोपणलाई अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रियाका रूपमा लिइन्छ। यस्तो प्रत्यारोपणका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक पर्ने चिकित्सकहरू बताउँछन्।

किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विधाका विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उक्त जटिल शल्यक्रिया तथा उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। यस सफलतासँगै नेपालमै जटिल बाल कलेजो प्रत्यारोपण सेवा विस्तार गर्ने सम्भावना थप बलियो बनेको अस्पतालको विश्वास छ। यसअघि यस्ता जटिल उपचारका लागि धेरै नेपाली बिरामी विदेश जानुपर्ने अवस्था रहँदै आएको थियो।

किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बालबालिकाका लागि विशेष उपचार सेवा विस्तार गर्ने लक्ष्य समेत लिएको जनाएको छ। केन्द्रलाई बाल उपचारको विशेषज्ञ केन्द्रका रूपमा विकास गर्दै विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ।

आमाले आफ्नी छोरीलाई कलेजोको एक अंश दान गर्नु, चिकित्सक तथा स्वास्थ्यकर्मीको निरन्तर प्रयास र आधुनिक चिकित्सा प्रविधिको समन्वयबाट बालिकाले नयाँ जीवन पाएको अस्पतालले जनाएको छ। यो सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ पनि महत्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *