राप्रपा बैठकमा झन्डै हात हालहाल?
काठमाडौं। बाग्मती प्रदेशको राजनीतिक विषयमा छलफल गर्न बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठक तनावपूर्ण बनेको खुलेको छ।
बैठकमा पूर्वअध्यक्ष कमल थापा र कार्यसम्पादन समिति सदस्य प्रेम श्रेष्ठबीच भनाभन हुँदै हात हालाहालको अवस्थासमेत सिर्जना भएको स्रोतले जनाएको छ।
बाग्मती प्रदेशमा राप्रपा संसदीय दलका नेता उद्धव थापाले पार्टीको निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि उनलाई कारबाही गर्ने विषयमा छलफल गर्न अध्यक्ष राजेन्द्र लिङदेनले कार्यसम्पादन समितिको बैठक बोलाएका थिए। यसअघि नै पार्टीको अनुशासन समितिले उद्धव थापामाथि कारबाही गर्न सिफारिस गरिसकेको थियो।
बैठकमा अध्यक्ष लिङदेनले उद्धव थापामाथि कारबाही गर्ने प्रस्ताव अघि सारेपछि कार्यसम्पादन समिति सदस्य प्रेम श्रेष्ठले त्यसको समर्थन गरेका थिए। पार्टीको विधि, विधान र निर्णयविपरीत जाने जोसुकैलाई पनि कारबाही गर्नुपर्ने धारणा राख्दै श्रेष्ठले पार्टी अनुशासन उल्लंघनमा कडाइ गर्नुपर्ने बताएका थिए।
श्रेष्ठले आफ्नो धारणा राखिरहेका बेला पूर्वअध्यक्ष कमल थापा अचानक उठेर उनलाई कडा शब्दमा प्रश्न गरेको स्रोतको भनाइ छ। थापाले श्रेष्ठतर्फ औँला तेर्स्याउँदै, ‘तपाईं अमेरिकी नागरिक भएर यो बैठकमा बस्ने नैतिकता छ? तपाईं धेरै नबोल्नुस्,’ भनेको स्रोतले जनाएको छ।
श्रेष्ठको अमेरिकी नागरिकताको विषय यसअघि पनि राप्रपाभित्र उठ्दै आएको बताइन्छ। गोर्खा घर भएका श्रेष्ठ लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका छन् र नेपाल–अमेरिका आउजाउ गरिरहन्छन्। उनीसँग अमेरिकी नागरिकता रहेको राप्रपाका कतिपय नेताहरूले दाबी गर्दै आए पनि श्रेष्ठ लामो समयदेखि पार्टीको नेतृत्व तहमा सक्रिय छन्।
बैठकमा कमल थापाले आफूलाई लक्षित गरेर कडा टिप्पणी गरेपछि श्रेष्ठले पनि त्यसको प्रतिवाद गरेका थिए। त्यसक्रममा दुवैबीच चर्काचर्की बढ्दै गएपछि अवस्था हात हालाहालसम्म पुगेको स्रोतले जनाएको छ।
बैठकमा उत्पन्न विवादका कारण केहीबेर वातावरण निकै तनावपूर्ण बनेको थियो।
बाग्मती प्रदेशमा पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गरेको विषयमा उद्धव थापामाथि कारबाही गर्ने प्रस्तावमाथि छलफल भइरहेका बेला नेताहरूबीच व्यक्तिगत आरोप–प्रत्यारोपसमेत भएपछि बैठक थप विवादित बनेको बताइएको छ।
