उत्कृष्ट अस्पतालअगाडिको ‘बिरामी’ सडक [तस्वीरहरू]
चितवन। चितवनको भरतपुरलाई स्वास्थ्य सेवाको केन्द्र मानिन्छ। भरतपुर अस्पताल पनि सेवा प्रवाहका हिसाबले देशका संघीय अस्पतालमध्ये उत्कृष्ट मानिएको छ। तर, यही अस्पतालको गेटसम्म पुग्ने सडकको अवस्था हेर्दा भने विकासको अर्को तस्बिर देखिन्छ।
दैनिक हजारौँ बिरामी उपचारका लागि पुग्ने अस्पतालअगाडिको सडक लामो समयदेखि खाल्डाखुल्डी र उबडखाबड छ। एम्बुलेन्समा गम्भीर बिरामी ल्याउँदा होस् वा उपचारपछि घर फर्काउँदा, सडकको अवस्थाले बिरामीलाई थप पीडा दिने गरेको सेवाग्राही बताउँछन्।
सडकको दुरावस्थाबाट बिरामी मात्र होइन, चिकित्सक, नर्स, अस्पतालका कर्मचारी, स्थानीय बासिन्दा र विद्यार्थीसमेत प्रभावित छन्। खाल्डाखुल्डीका कारण सवारी चलाउन कठिन छ। धुलो उड्दा पैदल हिँड्नेहरू मुख छोप्न बाध्य छन्। वर्षा हुँदा सडकमा पानी जमेर आवतजावत झनै कठिन हुने गरेको छ।
स्थानीयका अनुसार सडक लामो समयदेखि भत्काएर छाडिएको छ। निर्माणस्थलमा नियमित काम नहुँदा समस्या झनै लम्बिएको उनीहरूको गुनासो छ।
सम्बन्धित निकायले भने नाली निर्माणमा देखिएको प्राविधिक जटिलता र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण काम प्रभावित भएको बताएको छ। नाली निर्माणको अधिकांश काम सकिएको र अब फुटपाथ तथा कालोपत्रेको काम अघि बढाउने दाबी गरिएको छ।
तर, अस्पतालअगाडिको यो सडकमा समस्या भोगिरहेका नागरिकका लागि आश्वासनभन्दा कामको गति महत्वपूर्ण छ।
भरतपुर अस्पतालमा उपचार गर्न आउने बिरामीले अस्पताल पुग्नुअघि नै सडकको झट्का खेप्नुपर्ने अवस्था आफैंमा विडम्बनापूर्ण छ। जहाँ मानिस स्वास्थ्य उपचारका लागि पुग्छन्, त्यहीँ पुग्ने बाटो नै अस्वस्थ हुनु विकास व्यवस्थापनको गम्भीर कमजोरी हो।
अस्पताल उत्कृष्ट भएर मात्र पुग्दैन। बिरामीलाई अस्पतालसम्म सुरक्षित र सहज रूपमा पुर्याउने सडक पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले भरतपुर अस्पतालअघिको सडकलाई तत्काल व्यवस्थित गर्नु सम्बन्धित निकायको प्राथमिकतामा पर्नुपर्छ।
तस्वीरहरू:

















