ओस्कारका लागि नेपाली चलचित्रको आवेदन खुला
काठमाडौं। ९९औँ एकेडेमी अवार्ड (ओस्कार) को ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधामा प्रतिस्पर्धाका लागि नेपालबाट चलचित्र छनोट गर्न आवेदन आह्वान गरिएको छ।
नेपाल इन्टरनेसनल फिचर चलचित्र छनोट समिति–२०२६ ले मापदण्ड पूरा गरेका नेपाली चलचित्रका निर्मातालाई भदौ २२ गतेभित्र आवेदन दिन आग्रह गरेको हो।
ओस्कारका लागि आवेदन दिने चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्नेछ। त्यस्तै, २०८२ असोज १५ देखि २०८३ असोज १४ गतेसम्म नेपालका व्यावसायिक सिनेमाघरमा प्रदर्शन भएको र लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्नेछ।
टेलिभिजन, भिओडी, डिभिडी, इन्टरनेट स्ट्रिमिङ वा एयरलाइन इन्टरटेनमेन्टमार्फत पहिलो पटक सार्वजनिक भएका चलचित्र भने छनोटका लागि योग्य हुने छैनन्।
छनोटका लागि चलचित्रका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ। चलचित्रमा नेपाली परिवेश र तत्व प्रतिबिम्बित भएको तथा ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्नेछ।
त्यस्तै, चलचित्रमा स्पष्ट रूपमा बुझिने अङ्ग्रेजी सबटाइटल अनिवार्य गरिएको छ।
छनोट समितिले प्राप्त आवेदनमध्ये निर्धारित मापदण्ड पूरा गर्ने चलचित्रलाई नेपालबाट ओस्कारको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि सिफारिस गर्नेछ।
९९औँ एकेडेमी अवार्ड २०८३ फागुन ३० गते आयोजना हुने तय भएको छ।
