लकडाउनमा अनलाइनबाट सुरु भएको ‘किड्स कटेज’को यात्रा, महांकालमा छैठौँ शाखा विस्तार
अष्ट्रेलिया जाने सपना त्यागेर नेपालमै व्यवसाय, ‘किड्स कटेज’को छैठौँ शाखा बौद्ध महांकालमा काठमाडौँ । कोभिड–१९ को लकडाउनपछि अनलाइनमार्फत डाइपर बिक्रीबाट व्यवसायिक यात्रा सुरु गरेको ‘किड्स कटेज’ले आफ्नो छैठौँ शाखा काठमाडौँको बौद्ध महांकालमा सञ्चालनमा ल्याएको छ । गंगोबु, पोखरा, कुपन्डोल र कपनलगायतका स्थानमा शाखा विस्तार गरिसकेको किड्स कटेजले पछिल्लो पटक महांकालमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उपभोक्ताको विश्वास र माग बढ्दै गएपछि सेवा विस्तारलाई तीव्रता दिइएको सञ्चालक किशोर जिसीले बताए ।
अष्ट्रेलिया जाने योजनालाई त्यागेर नेपालमै व्यवसाय सुरु गरेका जिसीले आफूले भोगेको समस्याबाट ‘किड्स कटेज’को व्यवसायिक अवधारणा विकास भएको बताए । उनका अनुसार गर्भावस्थादेखि बच्चा जन्मिसकेपछि आवश्यक पर्ने विभिन्न सामग्री किड्स कटेजमा उपलब्ध छन् । ‘गर्भवती अवस्था र आमा बनिसकेपछि प्रयोगमा आउने ५० हजारदेखि एक लाख रुपैयाँसम्मका सामग्रीसमेत किड्स कटेजमा उपलब्ध छन्,’ सञ्चालक जिसीले भने । आफ्नै अनुभव र समस्याबाट व्यवसायको अवधारणा विकास गरेको बताउँदै जिसीले तय गरिएको रोडम्यापअनुसार व्यवसायलाई विस्तार गर्दै लगिएको जानकारी दिए ।
‘आफूले पाएको समस्याबाट व्यवसायिक अवधारणाको विकास भएको हो । त्यही रोडम्यापअनुसार व्यवसायलाई विस्तार गर्दै अघि बढिरहेका छौँ,’ उनले भने । किड्स कटेजले हाल ४० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । आगामी दुई वर्षभित्र रोजगारीको संख्या पाँच सय पुर्याउने लक्ष्यसहित व्यवसाय विस्तारको योजना अघि बढाइएको सञ्चालक जिसीले बताए । अनलाइनबाट सुरु भएको सानो व्यवसायलाई उपभोक्ताको माया र विश्वासले विभिन्न शहर तथा स्थानमा शाखा विस्तार गर्न सफल बनाएको भन्दै जिसीले आगामी दिनमा नेपालका थप स्थानमा सेवा विस्तार गर्ने योजना रहेको बताए ।
