‘जदौ’को टिजर सार्वजनिक
काठमाडौं। फिल्म ‘जदौ’को टिजर सार्वजनिक भएको छ । हाइटेक इन्टरटेन्मेन्टमार्फत सार्वजनिक टिजरमा नयाँ पुस्ताका युवायुवतीबीचको त्रिकोणात्मक प्रेमसँगै अभिभावक पुस्ताबीचको द्वन्द्वलाई समेत प्रस्तुत गरिएको छ ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मको टिजरले अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापासँगको प्रेमसम्बन्धको झल्को दिन्छ । अभिभावक पुस्ताको प्रतिनिधित्व भने अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन् ।
असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने ‘जदौ’लाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथाका रूपमा प्रस्तुत गरिएको छ । निर्देशक अन्जन शर्माका अनुसार नेपाली समाजमा विद्यमान जातीय विभेदका कारण उत्पन्न समस्या र त्यसको समाधानका लागि चालिएका कदमलाई फिल्ममा प्रस्तुत गरिएको छ ।
लेखकसमेत रहेका निर्देशक काजी लिम्बूले मनोरञ्जनसँगै जातीय भेदभाव र असमानताको खाडल पुर्नुपर्ने सन्देश फिल्मले दिने बताए ।
समीश्रण मुभीज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापासहित विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की र स्वस्तिका चौधरीलगायत कलाकारको अभिनय छ ।
श्याम तामाङ र नवराज उप्रेतीले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको फिल्मका निर्माता सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल हुन् ।
शान्ति पुडासैनी कार्यकारी निर्माता तथा बिमला भण्डारी प्रोडक्सन हेड रहेको फिल्मलाई एनजिसिएन ग्रुपले देशव्यापी वितरण गर्नेछ ।
