`

स्क्रबटाइफसबाट एकको मृत्यु

Nepal One HD ७ भदौ २०८३ १३:१३
जीवनशैली/स्वास्थ्य

सल्यान। सल्यानमा स्क्रबटाइफस तथा ज्वरोका बिरामी बढ्दै गएका छन्। दार्मा गाउँपालिकामा पछिल्लो एक सातायता संक्रमण बढेपछि एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस पुष्टि भएको छ।

दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गाउँपालिका–५ का ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका कारण मृत्यु भएको हो। ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा किटमार्फत संक्रमण पुष्टि भएको थियो।

खड्कालाई मधुमेहको समस्या पनि थियो। फोक्सोमा पानी जमेको देखिएपछि थप उपचारका लागि दाङ हुँदै नेपालगन्ज रिफर गरिएको थियो। उपचारपछि घर फर्कने क्रममा बाटोमै उनको मृत्यु भएको बस्नेतले जानकारी दिए।

संक्रमण बढ्दै गएपछि शनिबार पनि एक बिरामीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। विशेषगरी गाउँपालिका–३ मा ज्वरो आएका बिरामीको परीक्षण गर्दा २५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखाका अनुसार दैनिक ज्वरोका बिरामी बढिरहेका छन्। परीक्षण गरिएकामध्ये दैनिक चारदेखि पाँच जनासम्ममा स्क्रबटाइफस पुष्टि भइरहेको छ। अन्य वडामा पनि व्यापक परीक्षण गरे संक्रमितको संख्या अझ बढ्न सक्ने स्वास्थ्य शाखाको अनुमान छ।

‘एक सातादेखि समस्या देखिएको छ। ज्वरोका बिरामी पनि बढिरहेका छन्। परीक्षण गर्दा दैनिक चार–पाँच जनामा स्क्रबटाइफस पुष्टि भइरहेको छ,’ स्वास्थ्य शाखा प्रमुख बस्नेतले भने।

संक्रमण नियन्त्रण, परीक्षण तथा उपचार व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारका सम्बन्धित निकायसँग सहयोग माग्ने तयारी भइरहेको उनले बताए।

गत वर्ष पनि दार्मामा स्क्रबटाइफसको संक्रमण व्यापक फैलिएको थियो। गाउँपालिकाका अनुसार गत वर्ष पाँच सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो भने चार जनाको मृत्यु भएको थियो।

चिकित्सकका अनुसार संक्रमित माइटको टोकाइबाट स्क्रबटाइफस सर्छ। झाडी, खेतबारी, वनजंगल तथा घरवरपरका घाँस र झाडीमा यस्ता माइट पाइन्छन्।

स्क्रबटाइफसबाट जोगिन खेतबारी, वनजंगल तथा झाडीमा जाँदा शरीर ढाकिने कपडा र सम्भव भएसम्म बुट प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्।

घरवरपरका झाडी तथा घाँस सफा राख्न, भुइँमा नबस्न र ज्वरो, टाउको तथा शरीर दुख्नेजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन पनि आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *