`

सुदूरपश्चिममा साउनमा ५ हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन

Nepal One HD ८ भदौ २०८३ ७:०७
अर्थ समाचार

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका छन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सो महिनामा पाँच हजार २०२ सवारी कारबाही परेका हुन् ।

सवारी कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५०० रकम राजस्व सङ्कलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार साउनमा सुदूरपश्चिममा २२३ सवारी दुर्घटना भएका थिए । यसमा १५ जनाको मृत्यु भएको थियो भने ३२४ जना घाइते भएका थिए । दुर्घटनामा ३२९ सवारी संलग्न रहेका थिए ।

उहाँका अनुसार १८१ दुर्घटना चालकका कारण भएका छन् भने नौ मादक पदार्थ सेवनका कारण दुर्घटना भएका छन् । त्यसैगरी, सवारी साधनका कारण चार, पैदल यात्रीका कारण १२, चौपायाको कारण १५, मौसमका कारण एक र सडकका कारण एक वटा दुर्घटना भएको प्रहरी तथ्याङ्क रहेको छ ।

“ट्राफिक नियम उल्लङ्घन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा मालसमान बोक्ने सवारीसाधनलाई कारबाही गर्ने गरिएको छ,” प्रवक्त विष्टले भने, “सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम समेत गरिँदै आएको छ ।”

त्यसैगरी, प्रहरीले एक करोड ६९ लाख ५७ हजार ७८२ मूल्य बराबरको भन्सार छली ल्याएको सामान नियन्त्रणमा लिएको छ । प्राकृतिक सम्पदा दोहनमा संलग्न २४ वटा सवारीसाधन बरामद गरी रु दुई लाख ५४ हजार ५०० जरिवाना असुल गरिएको छ । यसमा संलग्न नौ जना मानिसलाई पनि पक्राउ गरिएको थियो ।

अवैध वन पैदावार चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर ७१४ क्युफिट काठ बरामद गरेर आठ लाख तीन हजार राजस्व सङ्कलन भएको छ । अवैध पशुपन्छी नियन्त्रणबाट प्रहरीले रु एक लाख २६ हजार राजस्व सङ्कलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *