`

रत्ननगरका पशुमा रेविज

Nepal One HD ९ भदौ २०८३ १२:०४
जीवनशैली/स्वास्थ्य

चितवन। पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायामा रेविजको संक्रमण देखिएपछि पशुपालक किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

रत्ननगर नगरपालिका–९ र १० मा पालिएका पशुको नमुना परीक्षण गर्दा रेविज संक्रमण पुष्टि भएको पशु सेवा कार्यालयले जनाएको छ। कार्यालय प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रेविज पुष्टि भएको हो।

रेविज लागेका पशुमा असामान्य व्यवहार देखिने, मुखबाट र्‍याल निकाल्ने, टाउको भित्तामा ठोक्ने, मानिस तथा अन्य जनावरलाई टोक्न खोज्ने, पानी र घाँस खान छाड्ने, दूध घट्ने र अन्ततः मृत्यु हुनेजस्ता लक्षण देखिने चिकित्सकहरूले बताएका छन्।

सामान्यतया कुकुर र बिरालोलाई रेविजविरुद्धको खोप लगाइने भए पनि गाईभैंसीलगायत अन्य पशु चौपायामा नियमित खोप लगाउने चलन कम रहेको डा. न्यौपानेले बताए। संक्रमण पुष्टि भएपछि भने प्रभावित क्षेत्रमा पशुहरूलाई रेविजविरुद्धको खोप लगाउन थालिएको छ।

उनका अनुसार रेविज ‘लाइसा’ भाइरसका कारण हुने घातक रोग हो। रत्ननगरमा संक्रमण देखिएसँगै जिल्लाका अन्य क्षेत्रमा समेत जोखिम हुन सक्ने भएकाले पशुपालकलाई सचेत रहन आग्रह गरिएको छ।

रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार नगरका विभिन्न वडामा पालिएका पशुबाट नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको छ।

चालु आर्थिक वर्षमा अहिलेसम्म चार वटा नमुना संकलन गरिएकोमा दुई वटामा रेविज संक्रमण पुष्टि भइसकेको उनले जानकारी दिइन्। थप दुई नमुना परीक्षणका लागि पठाउने तयारी छ।

नगरपालिकाको वडा नम्बर ९, १० र १६ मा संक्रमण देखिएको जनाइएको छ। संक्रमित पशुमा लक्षण देखिएको करिब ९ देखि १० दिनभित्र मृत्यु हुने गरेको चिकित्सक राजभण्डारीले बताइन्।

उनका अनुसार जङ्गली जनावर तथा न्याउरी मुसा र स्यालको टोकाइबाट पशुमा संक्रमण फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान छ।

रेविज संक्रमित पशुको सम्पर्कमा आएका मानिसमा समेत जोखिम हुने भएकाले प्रभावित क्षेत्रमा मानिस तथा पशुलाई रेविजविरुद्धको खोप दिन थालिएको छ।

विशेषगरी जंगल आसपासका क्षेत्रमा पशुपालन गर्ने किसानलाई असामान्य व्यवहार देखाउने पशुबाट टाढै रहन चिकित्सकहरूले सुझाएका छन्। कुनै पशुले टोके वा चिथोरेमा घाउलाई तत्काल साबुन र बगिरहेको सफा पानीले कम्तीमा १५ मिनेट राम्ररी धुन र चिकित्सकको सल्लाहअनुसार रेविजविरुद्धको खोप लगाउन भनिएको छ।

घरपालुवा कुकुर तथा बिरालोलाई पनि हरेक वर्ष रेविजविरुद्धको खोप लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।

शंकास्पद व्यवहार देखाएका पशुलाई मानिस तथा अन्य जनावरबाट अलग राखेर तत्काल सम्बन्धित निकायलाई खबर गर्न पनि आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *