सत्ता र पद होइन, श्रम र उत्पादनमार्फत जनताको जीवन बदल्ने सुदन किरातीको दाबी
काठमाडौं । श्रम संस्कृति पार्टीका केन्द्रीय श्रमदाता तथा पूर्वपर्यटनमन्त्री सुदन किरातीले जनताको जीवनस्तर सुधार गर्न नसक्ने शासन व्यवस्थाको कुनै अर्थ नरहने बताएका छन्।
इलाममा आयोजित जनहातेमालो भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले आफूहरू सत्ता र पदका लागि नभई श्रम तथा उत्पादनमार्फत जनताको जीवनस्तर परिवर्तन गर्ने अभियानमा रहेको बताए।
नेपालमा उत्पादन बढाउन सके मुलुकको आर्थिक अवस्था सुधार गर्न सकिने उनको भनाइ थियो। उनले नेपालले विमान र मोबाइल बनाउन नसके पनि कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्ने बताए।
‘प्लेन र मोबाइल बनाउन नसकिएला, तर टमाटर, प्याज, धनियाँ र अदुवा फलाउन सक्छौँ,’ उनले भने, ‘सरकारी ड्रेस लगाएर श्रमदाता खेतबारीमा जाने र उत्पादन बढाउने अभियान चलाउँछौँ।’
किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्ने दाबी गर्दै किरातीले किसानका उत्पादन कम्पनीमार्फत बजारसम्म पुर्याउने र उचित मूल्यको ग्यारेन्टी गर्ने बताए।
‘किसानको उत्पादनको बजार सुनिश्चित गर्ने कम्पनी निर्माण गर्छौँ,’ उनले भने।
