विज्ञ टोलीको अध्ययनपछि मात्र कृष्णभीरको सडक मर्मत गरिने
चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक तत्काल मर्मत नहुने भएको छ। सडक विभागले विज्ञ टोली पठाएर अध्ययन गराएपछि मात्रै सडक कसरी मर्मत गर्ने भन्ने टुंगो लगाउने भएको हो।
आइतबार बिहान सडक चिरिएर भासिएपछि सडक विभागले अध्ययनका लागि काठमाडौँबाट विज्ञ टोली कृष्णभीरतर्फ पठाएको छ। टोलीले सडक भासिनुको कारण र क्षतिको अवस्थाबारे अध्ययन गरेपछि साँझसम्म मर्मतको विधिबारे निर्णय हुने सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए।
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक सामान्य रूपमा मर्मत गर्न सकिने अवस्थामा छैन। विसं २०५६ मा पहिरो गएको स्थानमा त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएर चर्किएको हो।
उनका अनुसार त्रिशूली नदीमा शनिबारको तुलनामा पानीको सतह करिब तीन मिटर बढेको छ। पानीको सतह घटेपछि जगबाटै पर्खाल लगाएर सडक उकास्ने वा अन्य विधिबाट मर्मत गर्ने भन्ने टुंगो लाग्नेछ।
कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडक आधाभन्दा बढी भाग भासिएको छ। करिब ६० मिटर अग्लो सडकको संरचनामा क्षति पुगेको पाण्डेले बताए। सडकको कुनाबाटै चिरिएकाले मर्मत कठिन भएको उनको भनाइ छ।
‘अहिले तत्कालै तल गएर हेर्न सक्ने अवस्था छैन। कति भाग तलबाट खोलिएको छ भन्ने पनि यकिन गर्न सकिएको छैन,’ पाण्डेले भने।
उनका अनुसार सो स्थानमा भित्तो काटेर सडक चौडा गर्न पनि कठिन छ। यसअघि विसं २०५६ मा पहिरो गएपछि तलबाटै सडक उकासेर मर्मत गरिएको थियो भने भित्तातर्फ पहिरो रोकथामका काम गरिएको थियो।
गत वर्ष पनि सोही स्थानमा सडक केही भासिएपछि मर्मतको काम भइरहेको थियो। मर्मतकै क्रममा पुनः सडक भासिएर चिरिएको हो।
सडक विभागका महानिर्देशक जैसीका अनुसार तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प छैन। अन्य वैकल्पिक सडक सञ्चालनमा रहेकाले यात्रुलाई सोही सडक प्रयोग गर्न उनले आग्रह गरेका छन्।
