`

राज्यको सम्पूर्ण शक्ति नागरिकको जीवन रक्षा गर्न प्रभावित क्षेत्रमा खटिएको छः प्रवक्ता पोखरेल

Nepal One HD १५ भदौ २०८३ २१:१४
प्रमुख खबर

काठमाडौँ – नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपद्मा नागरिकको जीवनरक्षा गर्न राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खटिएको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विगत छ दिनदेखि राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिरहेको बताउँदै उनले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गरे ।

प्रवक्ता पोखरेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू रातदिन नभनी स्थलगत रूपमा खटिएका छन् । नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालित हुनुका साथै आवश्यकतालाई मध्यनजर गरी तयारी अवस्थामा पनि राखिएको उनले जानकारी दिए । “जहाँ(जहाँ नागरिक फसेका छन् त्यहाँ र जहाँ हेलिकप्टर अवतरण गर्न सक्ने भौगोलिक अवस्था छ, त्यहाँ टोली तुरुन्तै पुगेर उद्धार कार्य गरिरहेको छ”, उनले भने।

सरकारका प्रवक्ता पोखरेलका अनुसार केहीबेर अघिसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ । खोज तथा उद्धारमा २१ हजार ८०० सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिए । “बाढीमा परी घाइते भएका सम्पूर्ण नागरिकको काठमाडौँ र देशका अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क उपचार भइरहेको छ । उपचारपश्चात् केहीबेर अघिसम्म १६८ जना डिस्चार्ज भइसकेको छ । प्रभावित क्षेत्रमा महामारी फैलन नदिन विशेष मेडिकल टोली र औषधि परिचालन गरिएको छ । नागरिकको स्वास्थ्य र जीवन रक्षामा हामी निरन्तर लागिरहेका छौँ”, उनले भने ।

मन्त्री पोखरेलले बाढी गएको खबर पाउनसाथ प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीसँगको समन्वयमा तत्कालै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सबै किमिसका सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य सुरु गरिएको उल्लेख गरे । विकट ठाउँ, प्रतिकूल मौसम र बाढीका कारण हेलीकप्टर राख्ने ठाउँ खोज्न कठिन हुँदा पनि कुनै कसर बाँकी नराखी निरन्तर उद्धार कार्यलाई अघि बढाइएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *