बाढीले बगाएको मानव र चाैपायकाे शवले नदी दुर्गन्धित, स्यानिटाइज गर्दै युवाकाे समूह
नुवाकोट । त्रिशूली नदी आसपासकाे बगर क्षेत्रलाई काभ्रेको बनेपादेखि आएका युवाहरूको एक समूहले ‘स्यानिटाइज’ गरेको छ ।
यही १० भदौमा ठूलो जनधनको क्षति पुर्याउने गरी ल्हेन्दे खोला, भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएपछि मानव शव र पशु चौपायाका शवले नदी दुर्गन्धित बन्दै गएपछि समूहले ‘स्यानिटाइज’ गरेको हो ।
दुर्गन्ध फैलिएर महामारी फैलिन सक्ने जोखिम बढेको भन्दै जनस्वास्थ्यविद्हरूले चेतावनी दिइरहेका बेला समूहले नदी बगर आसपासका बजारहरू देवीघाट, ढुङ्गेबजार, सिम्बुटार, त्रिशूलीलगायत क्षेत्रमा स्यानिटाइज गरेको हो ।
‘खासमा हामी स्वतःस्फूर्त बाढी आएकै दिन नागरिकहरूको उद्धार गर्न आएका थियौँ,’ समूहका एक युवा गोविन्द बुढाथोकीले भने, ‘सकेको उद्धार गरेपछि हामी चिकित्सकहरूसँग परामर्श गरेर स्यानिटाइजमा जुट्यौँ र नदीको दुर्गन्ध कम हुँदै गयो ।’
स्यानिटाइजका लागि आवश्यक केमिकल आफूहरूले नै खरिद गरेको उनले बताए।
