इटालीकी प्रधानमन्त्रीको सत्तामा रेकर्ड
काठमाडाैँ। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले युद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गरेको रेकर्ड बनाउँदै शुक्रबार दक्षिणी सहर बारीमा राजनीतिक र्याली आयोजना गरिएकाे छ । सन् २०२७ को निर्वाचनलाई लक्षित गरिएको र्यालीमा उनले सरकारका उपलब्धि प्रस्तुत गर्दै समर्थकलाई आगामी चुनावका लागि एकजुट गर्ने अपेक्षा गरिएको छ।
मेलोनीको सरकारले शुक्रबार एक हजार ४१३ दिन पूरा गर्दै पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको रेकर्ड तोड्नेछ । पछिल्लो ८० वर्षमा ६८ वटा सरकार बनेको इटालीमा गठबन्धनभित्रका विवादका बाबजुद मेलोनीले सत्ता टिकाएकी हुन्।
मेलोनीको ‘ब्रदर्स अफ इटाली’ पार्टीले आयोजना गरेको कार्यक्रममा करिब १० हजार समर्थक सहभागी हुने अपेक्षा गरिएको छ। ‘सबैभन्दा स्थिर सरकार, सबैभन्दा बलियो इटाली’ नारासहितको कार्यक्रममा मेलोनीले सन् २०२२ यता रोजगारीमा १० लाखभन्दा बढी वृद्धि र व्यक्तिगत आयकरमा २१ अर्ब युरो कटौतीलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्नेछन्।
सरकारले देशको वित्तीय अवस्थामा सुधार आएको दाबी गरे पनि आलोचकहरूले आर्थिक वृद्धि कमजोर रहेको बताएका छन्। ट्रेड युनियन सीजीआईएलका प्रमुख माउरिजियो लान्डिनीले तलब नबढेको, पेट्रोल महँगिएको, रोजगारीको असुरक्षा बढेको र स्वास्थ्य सेवा कमजोर बनेको बताए।
मेलोनीको गठबन्धनले सार्वजनिक सुरक्षा र आप्रवासन नियन्त्रणमा केन्द्रित करिब ३०० कानून तथा आदेश पारित गरेको छ। सन् २०२२ मा अवैध आप्रवासन नियन्त्रण गर्ने प्रतिबद्धतासहित चुनाव जितेको ‘ब्रदर्स अफ इटाली’ ले आफ्ना नीतिका कारण आप्रवासी आगमन ८० प्रतिशत घटेको दाबी गरेको छ।
यसैबिच सरकारविरोधी प्रदर्शनकारीहरूले मेलोनी सरकारमाथि युद्ध र हतियारको अर्थतन्त्रलाई बढावा दिएको, ‘पुलिस राज्य’ निर्माण गर्न खोजेको र आप्रवासीविरुद्ध घृणाको वातावरण सिर्जना गरेको आरोप लगाएका छन्। आगामी निर्वाचनअघि मेलोनीको दक्षिणपन्थी आधारलाई चुनौती दिने नयाँ राजनीतिक शक्ति पनि उदाउँदै गएको बताइएको छ।
