`

भा*.., थुतुनो पनि र*..को जस्तो : रास्वपाका प्रशिक्षित कार्यकर्ताका दिव्यवाणी

रामचन्द्र जाेशी २० भदौ २०८३ १८:०२
बिशेष

काठमाडाैं। ‘भा*.., थुतुनो पनि र*..को जस्तो परेको, रत्नपार्कमा बसे हुने’ लगायतका यावत् गालीहरू रास्वपा कार्यकर्ताका दिव्यवाणीहरू हुन्। रास्वपा कार्यकर्ताका लागि यी वेदका मन्त्र हुन्, गीताका श्लोक हुन्। मानौँ- अरूलाई गाली नगरिकन उनीहरूलाई भोक लाग्दैन। निद्रा पर्दैन। यी शब्दहरू अर्काको आमा, दिदीबहिनीलाई नभनिकन उनीहरूको आत्माशान्ति हुँदैन। दिनचर्या नै सुरु हुँदैन। यस्तो लाग्छ- रास्वपाका यस्तो भन्ने यी ऋषिमुनीहरू कुनै देवलोकबाट आएका हुन्, या उनीहरू आमाबाट जन्मिनुपरेको होइन।

पीडितले पीडा नै देखाउँछ। तर नेपालमा अहिले पीडितलाई अपराधी जस्तो बनाइन्छ। रास्वपाको नजरमा प्रश्न गर्ने मानिसहरू हत्यारा, बलात्कारी, चोर, फटाहा हुन्। सरकारलाई औँला देखाउने मानिसहरूलाई रास्वपाका कार्यकर्ताहरूले आमाचकारी गाली गर्छन्, दिनदहाडै बलात्कारका धम्की दिन्छन्, गला रेटिदिन्छु भन्छन्। मानौँ रास्वपाका कार्यकर्ता नै बलात्कारी, हत्यारा, चोर र फटाहा हुन्।

यो किसिमको निकृष्ट सोचको बीजारोपणका नाइके भने रास्वपा सभापति रवि लामिछाने र वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले गरेका हुन्। रविले टिभीबाट गाली गरे। बालेन्द्रले युट्युब-फेसबुकबाट। रवि र बालेन्द्रले सुरु गरेको यो अभियानको चपेटामा भने आज सिङ्गो नेपाली समाज परिरहेको छ।

अर्कोतिर रवि-बालेनले रोपेको यो बिरुवाको फल उनीहरूकै लागि पनि महँगो परिरहेको छ। सामाजिक सञ्जालमा सरकारको समर्थनमा गरिने टिप्पणीप्रति रास्वपाकै सांसदहरूले आपत्ति जनाइरहेका छन्। यसको पछिल्लो उदाहरण हो रसुवा बाढी।

बाढीका कारण श्रीमान् बेपत्ता भएपछि काखमा बच्चा च्यापेर उनको खोजी गरिदिन सरकारसँग आग्रह गरेकी एक महिलाको भिडिओमा रास्वपा कार्यकर्ताले गाली गरेका छन्। त्यसको केही दिनअघि पनि उनीहरूले एक अर्की महिलामाथि त्यसैगरी आक्रमण गरेका थिए। अहिले यो उनीहरूको दैनिक दिनचर्या जस्तै देखिन्छ।

पुजा ओली नाम भएकी फेसबुक प्रयोगकर्ताले उद्धारको याचना गरिरहेकी एक महिलाको भिडियोमा कमेन्ट लेख्छिन्, ‘तँ पनि मर रा*..।’

सपना गुरुङ भट्टराईले त्यही भिडियोमा लेख्छिन्, ‘बिकुवा झोलेनी आईमाई।’

‘हेर रा*.. पोइ मर्यो भनेर खुसी भाको,’ अमर थापा नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन्।

यी त केही प्रतिनिधि कमेन्ट मात्रै हुन्। रास्वपा र रास्वपा सरकारका हजारौँ समर्थकले उक्त भिडियोमा यस्तै कमेन्ट गरेका छन्। यो एउटा भिडियो मात्रै होइन, यस्तै अरू सरकारलाई प्रश्न गर्ने जोसुकै मान्छेलाई पनि रास्वपाका लाखौँ कार्यकर्ताले गर्ने कमेन्ट यस्तै यस्तै छन्। तर, रास्वपा र सरकार भने मुकदर्शक मात्रै बनिरहेको छ। आफ्ना कार्यकर्तालाई नियन्त्रण गर्न रास्वपा सरकारले कुनै पहल गरेको देखिँदैन।

ती महिलाको भिडिओमा श्रीमान्को खोजी गरिदिन सरकारसँग आग्रह गरेकै विषयलाई लिएर चरित्रमाथि प्रश्न उठाउनेदेखि भद्दा र अशोभनीय टिप्पणीसम्म गरिएको छ। यता रास्वपाका केही सांसदहरू भने पीडितको आक्रोशलाई सरकारविरोधी गतिविधिका रूपमा व्याख्या गर्न नहुने बताउँछन्। तर यही कुरा उनीहरूले आफ्ना कार्यकर्तालाई भने बुझाउन सक्दैनन्।

रास्वपाकी सहमहामन्त्री एवं सांसद निशा डाँगीले पीडित महिलाको भिडिओमा आएका टिप्पणीप्रति दुःख व्यक्त गरेकी छन्। डाँगीले ती महिला कुनै ‘तमासा’ देखाउन नभई आफ्नो पीडा र विवशता पोख्न बाध्य भएको बताएकी छन्।

‘आफ्नै मान्छे हराएको बेला कोही रोयो, करायो, रिसायो भने उसलाई सम्हाल्ने कि उसको चरित्रमाथि प्रश्न उठाउने ? विपत्तिमा परेको मान्छेलाई गाली गरेर हामी आखिर के साबित गर्न खोजिरहेका छौँ ?’ डाँगीले भनेकी छन्।

सांसद रञ्जु दर्शनाले पनि यसमा आपत्ति जनाएकी छन्।

‘ती दिदीको जीवनमा प्रलय गएको छ, भोलिको अनिश्चितताले मन काँपेको छ। उनले सरकारलाई गाली पनि गरिरहनुभएको छ, मलाई पनि राम्रो लागेन। तर त्यो गालीभन्दा माथि मनको कुनामा आफ्नो मान्छे फर्केर आउनुहुन्छ भन्ने आशा छ,’ दर्शनाले भनेकी छन्।

यता सांसद गणेश कार्कीको धारणा पनि उस्तै छ।

‘पीडित आक्रोशित हुनु प्राकृतिक हो। हरेक मान्छेले आफ्नो पीडा अर्को कसैले चाहेकै भाषा, व्यवहार र तरिकामा नपोख्न सक्छ। यस्तोमा पीडितको आक्रोशको प्रतिक्रियामा गालीगलौजमा उत्रिने मान्छेले न मानवीयताको पक्षपोषण गर्छ, न मुलुकको, न पार्टीको,’ कार्कीले भनेका छन्।

बाढी तथा विपद्का कारण आफ्ना प्रियजन गुमाएका वा अझै सम्पर्कविहीन रहेका परिवारका सदस्यहरू मानसिक रूपमा समेत गम्भीर पीडामा छन्। यस्तो अवस्थामा सामाजिक सञ्जालमा पीडितकै चरित्रमाथि प्रश्न उठाउने र घृणास्पद टिप्पणी गर्ने प्रवृत्तिले समाजको सामाजिक एकता खल्बलिन्छ। अर्कोतिर, विपत्तिमा गम्भीर पीडामा परेका नागरिकलाई रास्वपा कार्यकर्ताको यो स्तरको नीच व्यवहारले झन् पीडित बनाउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *